मिडिया विकास र टिमवर्कबारे छलफल गर्दै दमक टाउन डटकमको अन्तरक्रिया सम्पन्न

दमक । ग्रेस न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित अनलाइन सञ्चारमाध्यम “दमक टाउन डटकम” को टिमबीच दमकस्थित मायाज क्याफेमा औपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मिडिया व्यवस्थापन, सञ्चारमाध्यमलाई आम नागरिकको सहज पहुँचमा पुर्‍याउने सम्भावना, डिजिटल मिडियाका चुनौती तथा अवसरलगायत विविध विषयमा छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय पत्रकारिता अझ प्रभावकारी, विश्वसनीय र जनउत्तरदायी बनाउन सहकार्य र नवीन सोच आवश्यक रहेको धारणा राखेका थिए।

बिज्ञापन

सो अवसरमा दमक टाउन डटकममा करिब एक वर्षदेखि सक्रिय रूपमा कार्यरत गौरादह–७ निवासी यलिजा भेटवाललाई प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, दमक–२ निवासी तथा दमक टाउन डटकमका सम्पादक जित बहादुर धिमाललाई योगदानको कदर गर्दै प्रमाणपत्र प्रदान गरिएको छ।

कार्यक्रमकै क्रममा दमक टाउन डटकमको आधिकारिक टिसर्ट पनि सार्वजनिक गरिएको थियो। ग्रेस न्युज नेटवर्कका अध्यक्ष डिकेन्द्र बस्नेतले टिममा आबद्ध सदस्यहरूलाई आधिकारिक टिसर्ट हस्तान्तरण गर्दै संस्थागत एकता, व्यावसायिकता र टिमवर्कलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमले सञ्चारकर्मीबीच आपसी समन्वय, अनुभव आदान–प्रदान तथा मिडियाको आगामी कार्यदिशाबारे सकारात्मक संवाद स्थापित गरेको आयोजकले जनाएको छ।