पनौती- आगामी माघ महिनाभर पनौतीको त्रिवेणी घाट परिसरमा १२ वर्षे मकर मेला लाग्दैछ । मकरमेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि पनौती नगरपालिकाले पूर्वाधार निर्माणका कार्यहरुलाई प्राथमिकता दिइरहेको छ ।

यसै क्रममा मकर मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि रोटरी क्लब अफ पनौतीले नागरिक समाज संस्थाका तर्फबाट पहिलो पटक प्रवद्र्धनात्मक अभियान सुरु गरेको छ । क्लबको छैठौं पदस्थापन समारोहमा अध्यक्ष इन्जिनियर सितु सैंजुले अभियान थालनी भएको जानकारी दिनु भयो । क्लबका पत्राचारलगायत सबै गतिविधिहरुमा रोटरी अन्तराष्ट्रिय लोगो, मकर मेला २०७८ उल्लेखित क्लबको लोगोको प्रयोगमा ल्याउनेछ । यस्तै, प्रचार प्रसारका सामग्रीहरु तथा मायाका चिनोहरुमासमेत यही लोगोको प्रयोग हुनेछ’, उहाँले भन्नु भयो ।

क्लबको निर्णयअनुसार प्रवद्धर्नात्मक अभियानका लागि तयार पारिएको लोगोयुक्त मगलाई रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेल र पनौतीका नगर प्रमुख भीम न्यौपानेले संयुक्त रुपमा सार्वजनिक गर्नु भयो । सो अवसरमा न्यौपानेले भन्नुभयो, ‘हामीले क्यालेण्डरमार्फत मकर मेलाको प्रवद्र्धन थालेका छौं । रोटरी क्लबले नयाँ सुरुवात गरेर मकर मेला सम्पन्न गर्नका लागि नगरपालिकालाई समेत साथ दिएकोमा खुशी भएका छौं । क्लबले मकर मेला २०७८ लाई प्रवद्र्धन र कोभिड–१९ को अवस्थामा सहज आएको अवस्थामा मुलुकभर र भारतीय क्लबका रोटरियनहरुलाई पनौती भ्रमणका लागि विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरुसमेत तयार गर्ने लक्ष राखेको क्लब सेक्रेटरी विष्णुमणि अधिकारीले जानकारी दिनु भयो ।
यसैगरी रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ पनौतीको छैंठौं पदस्थापना समारोह शनिबार चामखरमा सम्पन्न भयो ।

निवर्तमान रोटरी डिष्ट्रिक्टर गभर्नर राजीव पोखरेलको प्रमुख आतिथ्यता र पनौती नगरपालिकाका मेयर भीम न्यौपानेको विशेष आतथ्यितामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रमुख अतिथि पोखरेलले रोटरी क्बल अफ पनौतीका अध्यक्ष (२०२१–२२) इन्जिनियर सितु सैंजुलाई रोटरीको बिधानअनुसार शपथ खुवाउनु भयो । यसैगरी सैंजुले आफ्नो समितिका पदाधिकारीहरुलाई शपथ खुवाउनु भयो ।

सो अवसरमा आफ्नो वर्षभरिको कार्यकालमा भएका क्रियाकलापहरुलाई क्लबका निवर्तमान अध्यक्ष डा. अनुप थापाले प्रस्तुतीकरणमार्फत जानकारी गराउनु भयो । उहाँले अध्यक्ष सैंजुलाई चार्टर प्रमाणपत्र, रोटरी अध्यक्षीय माला र ग्याबेल हस्तान्तरण गर्नुभयो । सो अवसरमा निवर्तमान प्रथम महिला (फस्र्ट लेडी) इन्दु थापाले वर्ष २०२१–२२ की फस्र्ट लेडी सबिता श्रेष्ठलाई फूलगुच्छा उपहारसहित स्वागत गर्नुभयो ।

कार्यक्रममा पदभार ग्रहण गर्दै अध्यक्ष सैंजुले वर्ष २०२१–२२ का लागि आफ्नो दृष्टिकोणको बारेमा जानकारी दिनुहुँदै समुदायको लागि काम गर्ने प्रयासमासहयोग गर्न र सामेल हुन क्लबका सबै सदस्यहरूलाई अनुरोध गर्नुभयो ।
सोही अवसरमा रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर रोटरियन शशी सत्यालले क्लबका चार नयाँ सदस्यहरुलाई औपचारिक रूपमा क्लबमा स्वागत गर्नुभयो । यस पटक मणिप्रसाद सापकोटा(पशु चिकित्साक्षेत्र), बिनोद बजगाईं (वित्त क्षेत्र), मनिष भैल (आर्किटेक्ट इन्जिनियरिङक्षेत्र) र राजन थापा (पर्यटनक्षेत्र) ले नयाँ सदस्यता लिनु भएको हो । सबै नवप्रवेशी सदस्यहरुलाई प्रमुख अतिथि पोखरेलले रोटरी पिन र डिष्ट्रिक्ट सेक्रेटरी रोटरियन प्रभात योन्जनले खादासहित सबैलाई स्वागत गर्नु भएको हो ।
कोभिड–१९ संक्रमणका कारण क्लबले यस अघिका दुई कार्यकालहरुमा भौतिक रुपमा पदस्थापन कार्यक्रम गर्न सकेको थिएन । सोही अवस्थाले गर्दा रोटरी वर्ष २०१९–२० का अध्यक्ष रोटरीयन डा.प्रकाश कुइँकेलले तत्कालीन बोर्डमा रहनु भएका पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्दै कार्यकाल सफल पार्नमा सबैबाट सहयोग पाइएको खुशी व्यक्त गर्नु भयो । उहाँलाई वर्ष २०२०–२१ का अध्यक्ष डा. अनुप थापाले कदरपत्रले सम्मान गर्नुभयो भने सैंजुले पनि थापालाई अघिल्लो कार्यकाल सफल भएकोमा धन्यवादसहित कदरपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पनौतीका मेयर एवं क्लबका मानार्थ सदस्य भीम न्यौपानले रोटरी क्लब अफ पनौतीसँग नगरपालिकाले बिगतदेखि नै सहकार्यमा विभिन्न कार्यहरु गर्दै आएको बताउनु भयो । सो अवसरमा क्लबका वर्ष २०२२–२३ का अध्यक्ष मधुसुधन गुरागाईंले स्वागत तथा चार्टर अध्यक्ष प्राडा सुमनराज ताम्राकारले धन्यवाद ज्ञापन गर्नु भएको थियो । –नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..