
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् ।


सोमबार काठमाडौंमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उहाले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संबोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् । महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताए ।


उनले अहिलेको व्यवस्थामा निर्वाचन भएर गठन हुने प्रतिनिधिसभाले देशको समस्या समाधान गर्नै नसक्ने बताए । संसदमा असफल भएका व्यक्तिहरु आउने क्रममा नरोकिएसम्म देश सफल बाटोमा अघि बढ्न नसक्ने उनले बताए ।

नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्थाहरु असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको उनले जानकारी दिए । वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमीक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो ।


