
काठमाडौं – सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले नेपालमा भएको विपत्तिप्रति दु:ख व्यक्त गर्दै प्रभावितका लागि राहत तथा स्वास्थ्य सामग्री पठाइएको बताएका छन्।

मुख्यमन्त्री गोलेका अनुसार नेपाल र नेपाली जनताप्रति सहयोग तथा ऐक्यबद्धता व्यक्त गर्ने उद्देश्यले सिक्किमले आवश्यक राहत सामग्री र स्वास्थ्य सहायता उपलब्ध गराउने पहल गरेको हो।

यसैक्रममा उनले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत सिक्किम क्रान्तिकारी मोर्चाको समर्पित टोलीलाई राहत सामग्री तथा स्वास्थ्य सहायता बोकेर नेपालतर्फ प्रस्थान गराएका छन्। टोलीले विपद्बाट प्रभावित तथा सहयोगको आवश्यकता रहेका व्यक्तिहरूका लागि अत्यावश्यक सामग्री र स्वास्थ्यसम्बन्धी सहायता लिएर गएको जनाइएको छ।


मुख्यमन्त्री गोलेले यो पहलले करुणा, मानवता र भ्रातृत्वको भावना प्रतिबिम्बित गर्ने बताएका छन्। विपत्तिको समयमा सबै एकजुट भएर पीडित तथा प्रभावित समुदायलाई सहयोगको हात बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
उनले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडितहरूको दुःखप्रति ऐक्यबद्धता जनाएका छन्। साथै, नेपालले अब सुरु गर्नुपर्ने कठिन पुनःस्थापना र पुनर्निर्माणको यात्रामा सिक्किम र त्यहाँका जनताको साथ र सद्भाव कायम रहने बताएका छन्।

