भुम्लुवासीलाई अब गाउँपालिकाबाटै मालपोत तथा नापी सेवा दिने तयारी

 

काभ्रेपलाञ्चोक — भुम्लु गाउँपालिका, मालपोत कार्यालय तथा नापी कार्यालयबीच स्थानीय नागरिकलाई सहज, प्रभावकारी र नजिकबाट सेवा प्रवाह गर्ने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ।

बिज्ञापन

बैठकमा अबदेखि भुम्लु गाउँपालिकाबाटै मालपोत तथा नापी सम्बन्धी सेवा तथा प्रशासनिक सुविधा उपलब्ध गराउने विषयमा आवश्यक तयारी अगाडि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, कार्यालय व्यवस्थापन तथा जनशक्ति सुनिश्चित गर्ने प्रतिबद्धतासमेत बैठकले गरेको छ।

यस निर्णयसँगै भुम्लुवासीले मालपोत तथा नापीसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा टाढाका कार्यालय पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र झन्झट न्यूनीकरण हुनुका साथै सेवा प्रवाहमा पहुँच र प्रभावकारिता बढ्ने विश्वास गरिएको छ।

बैठकमा गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेल, उपाध्यक्ष जितेन्द्र मान तामाङ तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खत्री लगायत सम्बन्धित कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।