काभ्रेमा ६९ औं राष्ट्रिय सहकारी दिवस बहुआयामिक कार्यक्रमसहित मनाइँदै

 

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि. काभ्रे (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसलाई यस वर्ष “उद्यमशिलता र पारदर्शिता : सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित विविध कार्यक्रममार्फत मनाउने तयारी गरेको छ। सहकारी अभियानलाई थप गतिशील, उत्तरदायी र सहभागितामूलक बनाउने उद्देश्यले संघले चरणबद्ध रूपमा कार्यक्रमहरू सार्वजनिक गरेको हो।

बिज्ञापन

संघले सहकारी दिवसलाई केवल औपचारिक समारोहमा सीमित नगरी व्यवहारिक, सिकाइमुखी र सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने रणनीति लिएको जनाएको छ। सोही अनुसार महिला सशक्तिकरण, संस्थाबीच सहकार्य विस्तार तथा सामुदायिक सेवामा योगदान गर्ने खालका कार्यक्रमहरू समेटिएका छन्।

कार्यक्रमको सुरुआत मिति २०८२ चैत्र १६ गते सोमबार “सहकारीमा महिला उद्यमशिलता विकास” विषयक एकदिने अन्तरक्रिया कार्यक्रमबाट हुनेछ। कार्यक्रममा सहकारी संस्थामा आबद्ध महिला सदस्यहरूको आर्थिक सशक्तिकरण, उद्यम विकासका सम्भावना, लगानी व्यवस्थापन तथा बजार पहुँच जस्ता विषयमा केन्द्रित छलफल गरिनेछ। सहकारीमार्फत महिलालाई स्वरोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने लक्ष्य राखिएको छ।

यसपछि मिति २०८२ चैत्र १८ गते बुधबार अन्तर सहकारी मैत्रिपूर्ण फुट्सल प्रतियोगिता आयोजना गरिनेछ। सहकारी संस्थाबीच सम्बन्ध विस्तार, सहकार्य प्रवर्द्धन तथा स्वस्थ प्रतिस्पर्धा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। विभिन्न सहकारी संस्थाहरूका टोलीहरूबीच हुने खेलले सहकारीकर्मीहरूबीच आपसी समझदारी र समन्वयलाई बल पुर्‍याउने विश्वास लिइएको छ।

मुख्य दिवस मिति २०८२ चैत्र २० गते शुक्रबार विभिन्न कार्यक्रमसहित मनाइनेछ। सो दिन बिहानै सहकारी आन्दोलनका अग्रजहरूको योगदानको सम्मानस्वरूप सहकारीका पिताहरूको तस्बिरमा माल्यार्पण गरिनेछ। त्यससँगै राष्ट्रिय झण्डा र सहकारी झण्डाको भण्डोत्तलन गरी दिवसको औपचारिक शुभारम्भ गरिनेछ।

त्यसपछि संघ परिसरमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ, जसले वातावरणीय सन्तुलन र हरित विकासप्रति सहकारी क्षेत्रको प्रतिबद्धता देखाउनेछ। सोही दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम सञ्चालन हुने छ, जसबाट रगत अभाव न्यूनीकरणमा प्रत्यक्ष योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा यसअघि सम्पन्न अन्तर सहकारी फुट्सल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिनेछ। साथै सहकारीकर्मी, सदस्य तथा सरोकारवालाहरूबीच सहकारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिनेछ, जसले सहकारी आन्दोलनमा एकता र सहकार्यलाई थप मजबुत बनाउनेछ।

जिल्ला सहकारी संघ लि. काभ्रेले सम्पूर्ण सहकारी संघ–संस्था, अभियन्ता, कर्मचारी तथा सदस्यहरूलाई यी कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ। संघका अनुसार यस्ता गतिविधिहरूले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता अभिवृद्धि तथा उद्यमशिलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछन्।