काठमाडौंको भृकुटीमण्डपमा चैत ५ गतेदेखि ‘ २७ औं फ्लोरा एक्स्पो ’ हुने

 

निराज रानाभाट, काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) ले ‘ २७ औं फ्लोरा एक्स्पो – २०८२ ’ को आयोजना गर्ने भएको छ । ‘ स्वच्छ वातावरण, रोजगारी र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका साथ चैत ५ गतेदेखि ८ गतेसम्म ( बिहान ०९:०० बजेदेखि साँझ ०५:३० बजेसम्म ) राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो हुने छ । उक्त एक्स्पोमा व्यवसायीक स्टल ६५ वटा, सुचनामुलक स्टल १० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, प्रतिस्पर्धा स्टल २ वटा, सेल्फी स्टल १ वटा तथा फूड स्टल १ वटा सहित गरी जम्मा ८२ वटा स्टल रहने आयोजकले जनाएको छ ।

बिज्ञापन

त्यसैगरी, उक्त एक्स्पोमा एकै छानामुनि करिव ५ सय भन्दा बढी प्रजातिका फूल तथा फलफूल र आलंकारिक इनडोर / आउटडोर बिरुवाहरू, सिरेमिक र प्लास्टिकका गमलाहरु, अर्गानिक मल, गार्डनिंग तथा कौशी खेतीलाई आवश्यक पर्ने सामाग्रीहरु, उन्नत बिउबिजन र बगैँचाका आधुनिक औजारहरूबारे प्रत्यक्ष जानकारी र अवलोकन एवं खरिद गर्न पाउनुको साथै पुष्प व्यवसाय शुरु गर्न चाहनेहरूका लागि विज्ञहरूबाट व्यावसायिक परामर्श लिन सकिने फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का अध्यक्ष राजेश भक्त श्रेष्ठले बताए ।

यस वर्ष पनि एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइने छ । उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बोटबिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर ( गुलाब, जरबेरा, कार्नेशन, आदि ) विधामा पुरस्कृत गरिने छ । विजेताहरूलाई शिल्ड, नगद र प्रमाण – पत्रद्दारा पुरस्कृत गरिने फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ ( सुनिल ) ले जानकारी दिए । उक्त एक्स्पोमा सहभागी हुने नर्सरी वा फर्मले ३ वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।

साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहने छ । ‘ २७ औं फ्लोरा एक्स्पो ’ ले पुष्प व्यवसायलाई थप व्यवसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने तथा १ करोड २० लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ । उक्त एक्स्पोलाई भव्य रूपमा संचालन गर्न विभिन्न संघ / संस्थाहरूको सहयोग तथा सहकार्य रहेको फ्यानले जनाएको छ ।