दुर्घटना न्युनिकरणका लागि काभ्रे ट्राफिकको विशेष अभियान, ६५ चालकको स्वास्थ्य परीक्षण

काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यसहित कार्यालय मातहतका अस्थायी ट्राफिक प्रहरी पोष्टमार्फत चालक लक्षित विशेष अभियान सञ्चालन गरेको छ।

वि.पि. राजमार्ग तथा जिल्लाका विभिन्न भित्री सडक खण्डहरूमा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनका चालकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पनौती नगर अस्पताल र धुलिखेल नगर अस्पतालसँगको संयुक्त समन्वय तथा सहकार्यमा ६५ जना चालकको सामान्य स्वास्थ्य परीक्षण गरिएको हो।

बिज्ञापन

पनौती नगरपालिका–५ र धुलिखेल नगरपालिका–११ काभ्रेभञ्ज्याङ क्षेत्रमा आयोजना गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा चालकहरूको रक्तचाप, आँखाको दृष्टि, सुगर, शारीरिक अवस्था लगायतका आधारभूत स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले चालकको शारीरिक र मानसिक अवस्था सवारी दुर्घटनाको प्रमुख कारण बन्न सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षणले दुर्घटना न्युनिकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा सुरक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।