
बनेपा — नाइटिङ्गेल एकेडेमीको आयोजना तथा बनेपा प्याब्सनको सहकार्यमा बनेपा नगरस्तरीय प्रथम “नाइटिङ्गेल जुनियर फुटसल प्रतियोगिता” आजदेखि उत्साहका साथ सुरु भएको छ। शैक्षिक उत्कृष्टतासँगै खेलकुद विकासलाई समान प्राथमिकता दिँदै आएको नाइटिङ्गेल एकेडेमीले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई लक्ष्य गरी प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगिताको उद्घाटन श्यामकुमार भुजेलले गर्नुभयो। प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले विद्यार्थी खेलाडीहरूलाई आत्मविश्वास, अनुशासन र खेलभावनासहित प्रतिस्पर्धामा उत्रिन आग्रह गर्नुभयो। फुटसल खेलले विद्यार्थीहरूमा शारीरिक स्फूर्ति मात्र नभई मानसिक सुदृढता, टिमवर्क र नेतृत्व क्षमताको विकास गर्ने उहाँको भनाइ थियो। “खेल भनेको भविष्यको लगानी हो, आजका विद्यार्थी भोलिका सक्षम खेलाडी र जिम्मेवार नागरिक हुन्,” उहाँले जोड दिनुभयो।
विशेष अतिथि महेन्द्र विष्टले यस्ता प्रतियोगिताले विद्यालयहरूबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने बताउनुभयो।
कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले स्वागत मन्तव्य राख्दै नाइटिङ्गेल एकेडेमीले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई सशक्त माध्यमका रूपमा अघि बढाएको उल्लेख गर्नुभयो। उहाँका अनुसार फुटसल जस्ता खेलले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रञ्जितले खेलमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै सहभागितालाई नै सबैभन्दा ठूलो उपलब्धि मान्न आग्रह गर्नुभयो। उहाँले एक पटकको असफलताबाट निराश नहुन विद्यार्थीलाई प्रेरित गर्दै आगामी दिनमा नाइटिङ्गेल एकेडेमीले आयोजना गर्ने खेलकुद कार्यक्रममा बनेपा नगरका सबै विद्यालयका विद्यार्थीलाई निःशुल्क सहभागिताको अवसर प्रदान गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो।
प्रतियोगिता आगामी शुक्रबार समापन हुनेछ। नगरका १७ विद्यालयका १८ टिम सहभागी रहेको प्रतियोगिताले बनेपा नगरमा विद्यालयस्तरीय खेलकुद गतिविधिलाई थप ऊर्जावान बनाउने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक विक्रम प्रजापतिका अनुसार प्रतियोगिता सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न गरिनेछ।
नाइटिङ्गेल एकेडेमीले शैक्षिक गुणस्तरसँगै खेलकुद, नेतृत्व विकास र सृजनशील गतिविधिमा अग्रसर रहँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ। यही प्रतिबद्धताका साथ आयोजना गरिएको यो प्रतियोगिता विद्यालयको दूरदर्शी सोच र सक्रिय नेतृत्वको सशक्त उदाहरण बनेको छ।







