बेथानचोक गाउँपालिकाको वडा नं. ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।

बेथानचोक गाउँपालिका वडा नं. ६ का अध्यक्ष विष्णु तामाङले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्न गाउँपालिका अध्यक्ष भगवान अधिकारी समक्ष प्रस्ताव पेश गर्नु भएको थियो । सो प्रस्तावका आधारमा अध्यक्ष अधिकारीले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्नु भयो ।

गाउँपालिका अध्यक्ष अधिकारीद्वारा जारी घोषणा पत्रमा उल्लेख गरिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ६ नं. वडा कार्यालयमार्फत मिति २०८० जेठ १६ देखि २३ गतेसम्म आठ सय उनान्चालीस घरधुरीमा बालबालिकाको विवरण संकलन गर्दा प्रचलित कानुन अनुसार चार वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको नपाईएकोले मिति २०८० जेष्ठ २५ गते बिहीबार बसेको वडा समिति बैठकको निर्णयानुसार र वडा अध्यक्ष श्री विष्णु तामाङज्यूको प्रस्ताव अनुसार आज मिति २०८० साल आषाढ १ गते शुक्रबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गर्दछु ।”

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चितता गर्न आवश्यक रहेकाले शिक्षामा गाउँपालिकाले लगानी गर्न कञ्जुस्याँई नगर्ने बताउनु भयो । उहाँले अनिवार्य तथा निःशुल्क शिक्षाका माध्यमबाट कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन भन्ने विषयमा गाउँपालिका गम्भीर रहेको बताउनु भयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले राज्यले अनिवार्य शिक्षाअन्तर्गत बालबालिकालाई निःशुल्क पोशाक, निःशुल्क पाठ्यपुस्तक, परीक्षा, भर्नालगायतका सम्पूर्ण शैक्षिक क्रियाकलाप निःशुल्क गरेकोले अन्तर्राष्ट्रिय मान्यता अनुसार अनिवार्य शिक्षा भनेको चार वर्ष पुरा भएकोदेखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउने, उनीहरूलाई विद्यालय छाड्न नदिने तथा विद्यालयमै टिकाउन गर्नुपर्ने सम्पूर्ण लगानीमा राज्यको दायित्व भएकोले सोही अनुरुप गाउँपालिकाले कार्य गरिरहेको बताउनु भयो । यो चुनौतिपूर्ण भए पनि यसले मुर्तरुप लिनु पर्ने कुरा औल्याउनुभयो । उहाँले गाउँपालिकाको वडा नं. १ केही दिनपछि नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा हुने बताउँदै अब बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा हुने जानकारी दिनुभयो । यसका लागि निरन्तर खपिटने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

कार्यक्रममा वडा भित्र रहेका सबै विद्यालयका प्राधानाध्यापन, विव्यस अध्यक्ष वा प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष वा प्रतिनिधि, विभिन्न दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..