
खानीखोला— खानीखोला गाउँपालिका अन्तर्गत सञ्चालनमा रहेको कुमारी आवासीय विद्यालयमा अध्ययनरत असहाय तथा विपन्न बालबालिकाका लागि समाजसेवी अविरल जिम्बा र राजन अधिकारीको नेतृत्वमा आएको टोलीले खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग प्रदान गरेको छ।

विद्यालयमा आश्रित १६ जना बालबालिकाको शैक्षिक तथा दैनिकी जीवन सहज बनाउने उद्देश्यले प्रदान गरिएको उक्त सहयोगले उनीहरूको पठन–पाठन र बसोबासमा सकारात्मक प्रभाव पार्ने विद्यालय प्रशासनले जनाएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी अविरल जिम्बा तथा सामाजिक अभियान्ता एवम् जिल्ला बचत संघ काभ्रेका सचिव राजन अधिकारीले असहाय बालबालिकाको शिक्षामा हातेमालो गर्नु समाजको साझा दायित्व भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता मानवीय तथा सहयोगात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।


विद्यालय परिवारले सहयोगी मनप्रति आभार प्रकट गर्दै यस प्रकारको सहयोगले बालबालिकामा आत्मविश्वास, हौसला र उज्ज्वल भविष्यप्रतिको आशा थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।



