
बनेपा – उद्योग तथा वाणिज्य कार्यालय, धुलिखेलको आयोजनामा इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा तालिम सञ्चालन गरिएको “कफी प्रशोधन तथा बरिष्टा” तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यालय प्रमुख रबिन घिमिरेको उपस्थितिमा सम्पन्न उक्त तालिमले युवाहरूलाई सीपमूलक बनाउँदै आत्मनिर्भरतातर्फ अग्रसर गराउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख घिमिरेले यस्ता सीपमूलक तालिमले स्थानीय युवाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्ने उल्लेख गरे। “व्यावहारिक सीपसहितको तालिमले रोजगारी सिर्जना मात्र होइन, युवालाई आत्मनिर्भर बनाउने बलियो आधार तयार गर्छ,” उनले बताए।


त्यस्तै, इनोभेटिभ हस्पिटालिटी हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरका प्रबन्धक कामदेव शाह ठकुरीले संस्थाले गुणस्तरीय तथा व्यवहारिक तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको उल्लेख गरे। “हामीले सञ्चालन गर्ने तालिमहरू बजारको मागअनुसार तयार गरिएका छन्, जसले सहभागीलाई तुरुन्तै काममा लाग्न सक्षम बनाउँछ,” उनले बताए।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका रूपक हुमागाईं, रविन्द्र चौलागाईं, काभ्रे प्रेस मिडियाका सञ्चालक अरबिन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो भने प्रशिक्षक अनिशा गिरीले सहजीकरण गरेकी थिइन्।
तालिममार्फत सहभागीहरूले कफी प्रशोधन, भुटाइ, प्याकिङ तथा बारिष्टा सम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका छन्।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्। यस तालिमले स्थानीय स्तरमै रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्दै युवाहरूलाई आत्मनिर्भर बनाउने विश्वास लिइएको छ। साथै सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिएको छ।


