
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको दाबी गरेका छन्। आइतबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले २० वटा दल मिलेर बनेको नयाँ पार्टीले जनमत र क्षमताका आधारमा उम्मेदवार उठाएकाले नतिजा राम्रो आउने जिकिर गरे।

प्रचण्डले ‘जेन्जी आन्दोलन’ र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै सुध्रिएको बताए। अन्य पुराना दलहरूको तुलनामा नेकपाको अवस्था सकारात्मक रहेको र युवा पुस्ताले पनि तीन प्रमुख दलमध्ये नेकपा र यसको नेतृत्वलाई फरक रूपमा हेर्न थालेको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक देखिएका प्रचण्डले सो पार्टीको उत्साह बिस्तारै कमजोर हुँदै गएको टिप्पणी गरे। रास्वपाका उम्मेदवारहरूका गतिविधि र उनीहरूलाई कसले सहयोग गरिरहेको छ भन्ने कुरा जनताले गहिरो गरी हेरिरहेको उनले बताए। मनोनयन दर्ता र त्यसपछि प्रयोग गरिएका सवारी साधन तथा सहयोगीहरूको पोल खुल्दै जाँदा रास्वपातिर बगेको ‘हावा’ बिस्तारै कमजोर बन्दै गएको उनको विश्लेषण छ।


गोरखाको चुनावी समीकरणबारे बोल्दै प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि त्यहाँ नेकपाका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित भएको बताए। भट्टराईसँगको संवादपछि अब दुई नेता र पार्टीबिचको सम्बन्धमा पनि क्रमशः सुधार आउने विश्वास उनले व्यक्त गरे।
पार्टीभित्र टिकट वितरणलाई लिएर देखिएका असन्तुष्टिहरू अधिकांश संवादबाटै हल गरिएको र नमिलेका केही ठाउँमा अनुशासनको कारबाही गरेर टुंग्याइएको उनले जानकारी दिए। सबै पक्षलाई समेटेर समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवार चयन गरिएकाले मिहिनेत गर्दा पहिलो शक्ति बन्न सकिनेमा उनी विश्वस्त देखिए।


