काभ्रे – जिल्ला सहकारी संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ भक्तपुरमा बसोबास गर्नु हुन्छ । नेपालको भौगोलिक बनावट र उक्त ठाउँमा घुम्ने, प्रकृतीसँग रमाउने तथा त्यहाँको समाज ,सँस्कृती ,बसोवास र रहनसहनको बारे जान्ने कौतुहलता सधै रहेको र मौका मिल्दा नयाँ नयाँ ठाउँ घुम्ने र त्यहाँको वातावरणमा रम्न मन पराउने बताउनु भयो । आफू सहकारी अभियानमा जोडिएको हुदाँ सहकारी सम्वन्धी लेख रचना र आर्थिक विषयहरुसँग सम्वन्धित किताव र लेखहरु पढ्न मन पराउने बताउनु भयो। हाल उहाँ जिल्ला सहकारी संघ लि.(डिस्कोफ) काभ्रेपलाञ्चोकमा २०७९ कार्तिक ०१ गते देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा ब्यवस्थापन प्रमुखको जिम्मेवारी सम्हाल्दैै आउनु भएको छ। प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले जिल्ला सहकारी संघ लि.(डिस्कोफ) काभ्रेपलाञ्चोकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठसँग गरेको विशेष कुराकानी

 

० सहकारीमा तपाईको प्रवेश र अनुभव बारे भन्नु पर्दा
२०६३ सालमा सहकारी संस्थाहरु दर्ता, संचालन र आर्थिक कारोवारको हिसावले पनि तिब्रता लिईरहेका थिए । मेरो मनमा सहकारी बुझ्ने र जान्ने उत्सुकुता जाग्न थाल्यो र धेरै भन्दा धेरै समय सहकारी सम्वन्धी ज्ञान हासिलको लागी अध्ययनमा लाग्न थालियो । २०६६ साल बनेपामा रहेका ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.मा पुगियो । जहाँ मेरो भेट सहकारीका अग्रज सहकारी विज्ञ तथा सहकारी अभियन्ता आदरणीय मुकुन्द प्रसाद दाहाल सरसँग मेरो भेट भयो र उहाँले नै सहकारीमा मेरो कामको लागी प्रवन्ध गर्नुभएको रहेछ । सानो अन्तरवार्ता पछि मेरो स्वस्थ्य अवस्था हेरि घर पायक पर्ने गरी बालकोट भक्तपुर स्थीत चमेरो बचत तथा ऋण सहकारी संस्था लि.मा प्रशिक्षार्थीको रुपमा केहि समय काम गर्ने र स्वास्थ्य ठिक भए पछि बनेपा स्थीत ज्योति बहुउद्देश्यीय सहकारी संस्थामा काम गर्ने गरि सवै कुरा भए पछि २०६६ श्रावण १५ गते चमेरो बचत तथा ऋण सहकारी संस्था लि.मा प्रशिक्षार्थीको रुपमा प्रबेश गरे । २०६६ फागुन १६ गते बनेपा काभ्रेमा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थामा लेखापालको पदमा नियुक्ती लिई कार्य थालनीसँगै नोकरी अवधिसम्म बरिष्ठ अधिकृत र ब्यवस्थापन प्रमुखको हैसियतले कार्य गर्ने मौका मिल्यो ।

सहकारीमा अनुभवको कुरा गर्नुपर्दा सहकारी क्षेत्रमा लागेको करिव चौध वर्षको अन्तरालमा २०६६ चैत्रमा आफु बसोवास गर्नेे स्थान सिरुटारमा एउटा सहकारी संस्था आवश्यकता महसुस गरी चुनमति बचत तथा ऋण सहकारी संस्था दर्ता गरी संचालनमा ल्याईयो जसमा स्थापना कालदेखि एक कार्यकाल कोषाध्यक्ष पदमा रहि कार्य जिम्मेवारी समाल्हने मौका पाए ।

त्यस्तै गरि आफ्नै समूदायमा रहेको सिरुटार बचत तथा ऋण सहकारी संस्था लि. कुशल नेतृत्व र ब्यवस्थापनको अभावले संचालनमा गती लिन नसकिरहेको र भन्नु पर्दा बन्दको अवस्थामा रहेको संस्थालाई चलायमान बनाउन साथीभाई एवं अग्रजहरुको सल्लाहले नयाँ काम गर्न सक्ने नेतृत्वलाई जिम्मा दिई संस्थाको आर्थिक क्रियाकलाप र गतिबिधिलाई चलायमान गर्ने सल्लाह अनुसार करिव १ वर्ष सचिव पदमा रहि त्यसको आर्थिक कारोवारको हिसाव मिलानने देखि नयाँ कार्य योजना बनाई कार्य गरीयो ।
गौशाला काठमाण्डौमा रहेको नमस्कार बहुउद्देश्यीय सहकारी संस्था लि.मा २०७० सालमा करिव १ वर्ष लेखा सुपरिवेक्षण समिति र बनेपा काभ्रे स्थीत महाँकाल ज्याति बहुउद्देश्यीय सहकारी संस्था लि.सँग एकिकरण भई बनेको नमस्कार महाँकाल ज्याति बहुउद्देश्यीय सहकारी संस्था लि.मा एक कार्यकाल पनि लेखा सुपरिवेक्षण समितिमा रहि कार्य गरियो । हाल जिल्ला सहकारी संघ लि.मा कार्ययत रहदै सहकारी अभियानमा देखिएको समस्या र यसको निराकरणका उपायहरु खोज्दै सहकारी विज्ञ र सहकारीका अग्रजहरुसँग छलफल, सल्लाह सुझाव लिदै सहकारी अभियानसँग जोडिनै रहेको छु ।

० जिल्ला सहकारी संघ काभ्रेको बारेमा सक्षिप्त जानकारी गराउनुहोस् ? हिजो र आजको सहकारी संघको अवस्थामा के फरक छ ?
वि.संं २०२४ भाद्र २६ गते सहकारी विभाग, काठमाण्डौमा दर्ता भएको तत्कालिन जिल्ला साझा संघको रुपमा रहेको जिल्ला सहकारी संघ नै हाल काभ्रेपलाञ्चोक जिल्लाभर रहेका सबै प्रकृतिका सहकारी संघ– संस्थाहरुको छाता संघको रुपमा रहि सहकारीहरुको विकास, विस्तार, सचेतना, प्रवद्र्धन र विकासको लागी पहलकदमी कार्य गर्दै जिल्ला सहकारी संघ लि, काभ्रेपलाञ्चोकको रुपमा परिचित संघको रुपमा रहेको छ । संघको मुख्य कार्यालय बनेपा न.पा. ७, गोदामचोकमा रहेको छ भने जिल्लामा स्थापना भई विभिन्न स्थानीय तहहरुमा सञ्चालनमा रहेका सहकारीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको सहजिकरण गर्दै सहकारी र संघ बीचमा दुरीलाई कम गरी एक आपसमा मर्यादित र व्यवस्थित सहकारीको विकासको परिकल्पना सहित अभियानलाई मूर्तरुप दिन संघको भूमिकालाई पारदर्शिता, व्यवस्थित र मर्यादित बनाउने अभियान स्वरुप पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र स्थापना गरि उक्त सेवाकेन्द्रले समेटीने पालिकाहरुमा रहेका सहकारी संस्थाहरुको लागि सेवा प्रदान गर्ने उद्देश्यका साथ ३ वटा सेवाकेन्द्र संचालनमा रहेको छ ।

यस जिल्ला सहकारी संघ लि. ५५ बर्ष पार गरी ५६ बर्षमा आईपुग्दा सम्म मेरो विश्लेषणमा पहिलाको नेतृत्व बर्गले संघमा आवद्ध सहकारी संघसंस्थाहरुको लागी मलखाद तथा कृषी उपज तथा साझा संस्थाको अवधारण अनुसार सुपथ मुल्यमा उपभोग्य बस्तुहरुको आपूर्ती गरी आम जनतालाई लाभान्वित गर्ने कार्य गर्दै आएको र हरेक पल्ट आएको नेतृत्वको संघमा भिन्दा भिन्दै योगदान रहेको नै छ तर संघको स्थापना र उद्देश्य अनुरुप गरेका र गर्दै आएका कामहरु प्रयाप्त हुन नसकेकै हो जव श्री विनोद पराजुलीको नेतृत्वमा नयाँ संचालक समिति बन्यो उहाँहरुवाट आर्थिक पक्षलाई जोड दिई वित्तीय कारोवार मार्फत संघलाई सवल र सक्षम बनाउने निर्णय सहित वित्तीय कारोवारको थालनी गरी वित्तिय सुधार तिर लग्नुभएको देखिन्छ तर विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना तथा युक्रेन रशिया लडाईले विश्व अर्थतन्त्र धराशायी हुदाँ नेपाल पनि अछुतो रहन सकेन यो कुरा यहाँहरु सवैमा विधितै छ । त्यसमा पनि नेपालको संविधानमा पनि सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्वा मध्ये एक खम्वाको रुपमा राखेको छ भनेपछि विश्व अर्थतन्त्र समस्यामा रहेकोे सन्दर्भमा नेपालमा पनि आर्थिक मन्दी आउनु र सहकारी संस्थाहरु पनि आर्थिक पाटोसँग जोडिएको हुदाँ समस्या आउने नै भयो । सहकारी संघसंस्थाहरुसँग यस संघ प्रतक्ष्य जोडिएको हुदाँ संघमा पनि संकट आउने नै भयो किनभने यसले पनि वित्तीय कारोवार गर्दै आईरहेको थियो । हो यो समस्या आउदा सहकारी संघ संस्थामा रहेका नेतृत्व र ब्यवस्थापनमा रहेका कर्मचारीहरुले समस्या समानाधको लागी के कस्तो योजना बनाएर ब्यवस्थापनमा लागेको छ् भन्ने विषय मुल कुरा रह्यो । अव जिल्ला सहकारी संघ लि.को कुरा गर्नु पर्दा जुन बेला म यस संघमा प्रवेश गरे त्यति बेला आर्थिक मन्दी पिकमा थियो भने सहकारी अभियानलाई चौतर्फि प्रहार भईरहेको थियो र हाल पनि कायम नै छ । आम मानिसहरुबाट सहकारी संस्थाहरुले विश्वास गुमाउदै गईरहेको र बचत फिर्ताको माग तिब्र थियो, त्यसैले गर्दा जिल्ला सहकारी संघ लि पनि सहकारी संस्थाहरुमा आएका समस्याबाट अछुतो रहन नसकेको र आर्थिक समस्याबाट गुज्रिरहेको थियो । त्यसमा पनि संघले आफ्नै जग्गामा सहकारी बजार विकास कार्यक्रम अन्तरगत ५० ५० प्रतिशत लागत सहभागीतामा सहकारी भवन निर्माण हुदै थियो जसको लागी वित्तीय समस्या थप चुनौती नै थियो । यो मेरो लागी चुनौती र अवसर पनि थियो , चुनौती किन र अवसर किन भन्ने यहाँहरुले बुझ्नु नै भयो होला । अव भन्नु पर्दा यी सव समस्या पहिचान गरी त्यसको निराकरण खोज्नु पहिलो प्रथमिकता रह्यो यसका लागी संघका अध्यक्ष श्री दिलिप शर्माज्यू र संचालक समितिसँग बसी कार्य योजना बनाउदा कर्मचारी सुशाासन, ब्यवस्थापकिय सुधार र वित्तीय सुधारका कार्ययोजना तयार गरी आफु मातहतका कर्मचारीहरुको साथ लिई कार्यलाई तिव्रताका साथ अगाडी बढाईयो । गत आ.व.२०७९– ०८० को कुरा गर्ने हो भन्ने वित्तिय कारोवारमा ८४.९६ प्रतिशतले बृद्धि गरि ७५ करोड चवाली लाखको बासलात बनाउन सफल भएको र यसलाई अझ बृद्धिको लागि सहकारी संस्थाहरुसँग निरन्तर समन्वय, सम्पर्क समेत बृद्धि हुदै आएको छ । हालको अवस्थामा बचत फिर्ताको कुनै समस्या नरहेको र सदस्य संस्थाहरुमा जिल्ला सहकारी संघ प्रति विश्वास बढ्दै गएको देखिन्छ । विभिन्न खालको प्रतिकूल अवस्थामा पनि आफ्ना क्षमता, कार्ययोजना र परिश्रमका कारण जिल्ला सहकारी संघ लि काभ्रेले आफ्नो नाममा रहेको ४ रोपनी १ आना जग्गामा सुविधा सम्पन्न आफ्नै भवन निर्माण सहित कार्यालय स्थानान्तरण समेत गरेको र उक्त भवनको पूर्ण उपयोग गरी संघको आम्दानी बढाउनको लागी सशुल्क पार्किङ र आवश्यक भएका सहकारी संस्थाहरुलाई कार्यालय प्रयोजनको लागी भाडामा स्थान उपलब्ध गराउने कार्य पनि थालनी गरिएको जानकारी गराउँदछु र यसै बर्ष मात्र अन्तर्राष्ट्रिय सहकारी दिवशको अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.नेपालबाट ७७ जिल्ला मध्ये यस संघलाई सर्वोकृष्ट जिल्ला सहकारी संघ घोषणा गरी पुरस्कृत पनि गरेको छ । साथै आर्थिक रुपमा समस्यामा रहेको सहकारी क्षेत्रमा आ. व. २०७९–०८० मा १२ प्रतिशत शेयर लाभांश वितरण गर्न यस संघ सफल समेत भएको छ ।

० हालदेखा परेको आर्थिक मन्दीले संघलाई कस्तो असर पु¥याएको छ ? आवद्ध संस्थाहरुको अवस्था कस्तो छ ?
मैले भने नि विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना तथा युक्रेन रशिया लडाईले विश्व अर्थतन्त्रको प्रभावले नेपाल पनि अछुतो रहन सकेन जसले गर्दा वित्तीय कारोवार गर्ने बैंक, वित्तीय संस्थाहरुसँगै सहकारी क्षेत्रमा पनि वित्तीय समस्या निम्त्यायो र संघ पनि अछुतो रहन सकेन यस्तोमा संघ संस्थामा रहेका नेतृत्व र ब्यवस्थापनमा रहेका कर्मचारीहरुले के कस्तो योजना बनाएर समस्याको समाधान निकालिरहेका छन् भन्ने विषय मुल कुरा रह्यो जसमा म जिल्ला सहकारी संघ लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा २०७९ कार्तिक ०१ गते नियुक्ती लिई कार्य जिम्मेवारी लिई सकेपछिको हाम्रो संचालक समितिको पहिलो बैठकमा नै संघमा देखिएको समस्या र समस्याको पहिचान सहित यसको निराकरणको लागी हामीले कर्मचारी सुशासन, ब्यवस्थापकीय सुधार तथा वित्तीय सुधारको लागी योजनाहरु बनाई कार्य गर्ने गरी निर्णय लिई, लिईएको लक्ष्य हासिल गर्न त्यहि अनुसार लागियो जसमा मलाई नेतृत्वमा रहनु भएका संघका अध्यक्ष श्री दिलिप शर्मा सरको पूर्ण साथ र सहयोग रह्यो र हाल देखिएको आर्थिक मन्दीका विचमा पनि कारोवार बृद्धि , सदस्यता बृद्धि जस्ता कार्य बाट संघलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन सफल भयौ र राष्ट्रिय सहकारी बैंक, नेप्स्कुन तथा अरु संघहरुले यस बर्ष शेयर सदस्यहरुलाई लाभांस वितरण गर्न नसकिरहेको अवस्थामा यस संघले १२ प्रतिशत लाभांस वितरण गर्न सक्नुलाई सवैले सकरात्मक रुपमा हेर्नुपर्छ । त्यसैले यसलाई हामीले समस्याको रुपमा होईन अवसरको रुपमा प्रयोग गयौ र लक्ष्य अनुसार उपलब्धी नै मान्नु पर्छ ।
अव रहयो प्रारम्भिक सहकारी संस्थाहरु जो यस संघसँग आवद्ध रहेका छन् वा भनु काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरु । मेरो जानकारी तथा हामीलाई प्राप्त सूचनाका आधारमा काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरु आफैमा समस्यामा छैनन् । समस्या छ त जुन सहकारी संस्था सहकारी सिद्धान्त, सहकारी ऐन तथा नियमावली, प्रचलीत कानुन र सहकारी मर्म अनुसार चलेका छैनन् त्यस्ता सहकारी संस्थाहरुमा अहिलेको आर्थिक मन्दीका कारण वित्तीय समस्या देखिएको हो किनभने समुदायमा आधारित, सुशासनमा चलेका सहकारी संस्थाहरुमा अहिले पनि कुनै वित्तीय समस्या दखिएका नै छैन यो कुरा उक्त संस्थाहरुवाट संप्रेषण गर्ने मासिक वित्तिय विवरणबाट पनि थाहा पाउन सकिन्छ । नियमित रुपमा आर्थिक सुचाङकमा चलेका सहकारी सस्थाहरुलाई आर्थिक तरलताको अवस्थामा समस्या आएमा हामी हाम्रो नीति, विधि र प्रकृया अनुसार संस्थाको आर्थिक अवस्थाको विश्लेषण गर्दै तरलता व्यवस्थापन गर्न तयारी अवस्थामा छौं ।

० सहकारीहरु धम्माधम बन्द हुने अवस्थामा छन यसको मुल कारण के होला ? यसको समाधानका लागि जिल्ला सहकारी संघको के योजनो रहेको छ ?
काभ्रेपलाञ्चोक जिल्लामा संचालनमा रहेको सहकारी संस्थाहरु हामीले सुने जस्तो र सोचे जस्तो समस्यामा परेको छ जस्तो मलाई लाग्दैन,मैले भने नि जुन सहकारी संस्थाहरु समूदायमा आधारित भएर सहकारी मर्म अनुसार चल्न सकेन, निति र विधि भन्दा बाहिर गएर पदको लाभ लिदै आफु र आफ्ना आफन्तलाई अत्याधिक कर्जा लगानीका साथै अनउत्पादक क्षेत्रमा बढी लगानी भए ,बचत संकलनमा सिमा निर्धारण नगरी बढी ब्याज दरमा बचत संलन गरे त्यस्ता सहकारी संस्थाहरुमा हालको आर्थिक मन्दीका कारण कर्जा असुली प्रक्रियामा नियमितता दिन नसकि र बचत फिर्ताको चाप बढी पर्न गई तरलता समस्या देखा परेको मात्र हो बन्द नै हुने अवस्थामा पुगेको जस्तो मलाई लाग्दैन सबै सहकारी संस्थाहरु समस्या ब्यवस्थापनमा नै जुटिरहेको छ । यसो भन्दैमा सबै सहकारी संस्थाहरु नियमित कार्यालय खोली संचालनमा छन् पनि भन्ने खोजेको होईन, विभिन्न मिडिया, पत्रत्रिका तथा सहकारी अभियान विच कुराकानी हुदाँ काभ्रेमा थोरै मात्र सहकारी संस्थाहरु समस्यामा रहेको बुझिएको छ । त्यसमा पनि यस्ता समस्या समाधान गर्नका लागि हामी नियमित रुपमा योजना सहित आवश्यक सहजिकरण गर्नका लागि तयारी अवस्थामा रहेको छौं । तर संस्थाहरु पनि हामीसँग आएर समस्याहरु पहिचान गर्दै आवश्यक परेका कुराहरुका बारेमा छलफल गर्न त आउनु पर्यो नी ।
जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोक जिल्लाभर रहेका सबै प्रकृतिका सहकारी संघ- संस्थाहरुको छाता संघको रुपमा रहि सहकारीहरुको विकास, विस्तार, सचेतना, प्रवद्र्धन र विकासको लागी पहलकदमी कार्य गर्ने संघ भएकोले हाल देखा परेको समस्याबाट पन्छिन सक्दैन र पन्छिन खोज्दैनौ पनि यस्तो समस्या निराकरणको लागी हामी हरदम तयार रहेका छौ यसको लागी स्थानिय पालिकाहरुसँग समन्वय गरी सहकारी संस्थाहरुको गतिविधि र तिनका अवस्था बारे जानकारी लिई रहेका छौ भने समस्या पहिचान गरी अन्तर कर्जा लगानी मार्फत स्रोत ब्यवस्थापनमा मद्दत गरीरहेका छौ साथै सहकारी संस्थामा आईपरेका समस्या निराकरणको लागी संस्थाबाट माग भएमा प्राविधिक सहयोग गरिरहेको र हाल सहकारी संस्थाहरुमा परेको समस्यालाई मध्यनजर गरी सहकारीसँग अन्तरसम्वाद कार्यक्रम संचालन गरिरहेको छौ ।

० छाता संगठन, स्थानीय र प्रदेशले पनि केहि गरेन भन्ने गुनासो छ नि ? यसमा तपाईको भनाई ?
केहि गरेन भन्दा पनि के चाहि गरिदिनु पर्ने हो त्यो चाहि प्रश्न बाचक होला नत्र भने छाता संगठन, स्थानिय र प्रदेशले सहकारी अभियानमा आएको समस्यालाई निराकरणको लागी केहि गरेन भन्ने गुनासो निराधार हो जस्तो लाग्छ । जिल्ला सहकारी संघ लि को नै कुरा गर्नु पर्दा अहिलेको समस्या हल गर्नको लागी धेरै कुरामा काम गरेका छौ जस्तो कि सहकारी सचेतना चलाउन विभिन्न प्रशिक्षण तथा तालिम, आर्थिक समस्या हलको लागी वित्त ब्यवस्थापन सम्वन्धि तालिम, समस्यामा परेका सहकारी संस्थाहरुको समस्या हल गर्नको लागी सहकारीसँग अन्तरसम्वाद कार्यक्रम जुन अहिले पनि निरन्तरता दिई रहेका छौ । सहकारी संस्थाहरुमा परेको समस्याले विकराल रुप नलियोस् भनि नियामक निकायहरुलाई अनुगमन र निरिक्षणलाई तिब्रता दिन पहल गर्दै बनेपा नगरपालिकासँग सहकार्य गर्दै बनेपा नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने सबै प्रकृतिका सहकारी संस्थाहरुको अनुगमन कार्य सम्पन्न गरिएको यहाँहरुलाई जानकारी नै होला साथै ताला लागेको सहकारी नियमित संचालन गर्ने वातावरण बनाउन संघको पहलमा सहकारी संस्थाको ताला खुलाई नियमित कारोवार गर्ने बातावरण वनाउने कार्य गरिएको जस्ता थुप्रै कार्य गरिरहेको नै छौ ।

० जिल्ला सहकारी संघमा आबद्ध कति वटा सहकारी बन्द भएका छन ? कति फरार भएका छन रु र कति वटा समस्यामा छन ?
मैले भने नि यसको प्रष्टसँग कतैबाट पनि संघमा कुनै निवेदन र जानकारी प्राप्त भएको छैन । यसो भनी रहदा समस्या छैन भन्न खोजेको पनि होइन । हालै मात्र यस संघबाट काभ्रे जिल्लामा संचालनमा रहेका सहकारी संस्थाहरुको तथ्याङ्क संकलन गरी सहकारी तथ्याङ्क पुस्तक संघको ४२औ बार्षिक साधारण सभामा विमोचन पनि गरियो । उक्त सहकारी तथ्याङ्क पुस्तकलाई आधार मान्दा हेर्नुहोस डिभिजन सहकारी कार्यालय खारेज हुदाँ उक्त कार्यालयले स्थानिय पालिकाहरुलाई १४९५ सहकारी संस्थाहरुको फाईल हस्तान्तरण गरेको देखिन्छ भने हाल संघबाट संकलन गरिएको डाटा हेर्ने हो भने जम्मा ६४६ बटा सहकारी संस्थाहरु संचालनमा रहेको देखियो बाकी सहकारी संस्थाहरु खोई त ?यसबाट के प्रष्ट हुनु पर्यो भने सहकारी संस्थाहरु दर्ता भए तर संचालनमा आएनन् र कति संस्थाहरु केहि निश्चीत कार्यको लागी संचालनमा आए र कार्य समाप्तीसागै झोलामा सिमित भए किनकि त्यहाँ अनियमितता र समस्या केहि पनि छैन किनभने यदि अहिले बन्द रहेका संस्थाहरुमा अनियमितता र समस्या भएको भए सदस्यहरुबाट कहि न कहि गुनोस गर्थे होला नि । त्यहि भएर सहकारी संस्थाहरु आफै समस्यामा छैनन् तर केहि महत्वकाक्षी संचालकहरु र ब्यवस्थापनमा रहेका कर्मचारीहरुकको बदमासीका कारण समस्या उत्पन्न भएको हो त्यसको समाधानको लागी ति नै संचालक र ब्यवस्थापनमा रहेका कर्मचारीहरु लागी रहेका छन् र लाग्नु पर्छ ।

० हाल सहकारीमा देखा परेकोे समस्यकासमाधान एकिकरण पनि एउटा माध्याम हो यसका लागि संघले के गर्दे छ ?
राज्यबाटै सहकारी संस्थाहरुको एकिकरणलाई विशेष जोड दिदै आईरहेको जनाए पनि कार्यान्वयन प्रकृया भने मन्द गतिमा नै देखिन्छ । फेर्स मर्ज सहितका योजनाहरु ल्याउनका लागि पहल स्थानीय सरकार र प्रदेश अनि संघबाट हुनै पर्छ । सहकारी संघ संस्थाहरुलाई सुशासन पारदर्शी र जवाफदेहि बनाउन नियमन कारी निकाय लाग्नै पर्दछ । यसका लागि संघको तर्फबाट विभिन्न खालका एकिकरणका नीतिहरु बार्षिक साधारणसभाबाट नीति योजना तथा कार्यक्रम मार्फत लागु गर्ने योजना नै संघले बनाएको छ । यसका लागि अभिमूखिकरण गर्ने, आवश्यक प्राविधिक सहयोग गर्ने, डकुमेन्टेशन गर्ने जस्ता कार्यहरु संघले गर्दै आएको छ ।

० आगामी योजनाहरु ?
जिल्ला सहकारी संघ लि आफ्नो रणनैतीक योजना अनुसार बार्षिक कार्य योजना बनाउदै अगाडी बढी रहेको सन्दर्भमा संघ आफैमा वित्तीय रुपले सक्षम र सवल हुदै काभ्रे जिल्लामा संचालनमा रहेका सवै प्रकृतीका सहकारी संघसंस्थाहरुलाई संघमा एकबद्ध गराई सहकारी अभियानलाई उच्च विन्दुमा पुर्याउनको लागी सहकारी संस्थाहरुको विकास, विस्तार, सचेतना, प्रवद्र्धनको लागी पहलकदमी कार्य गर्दै सहकारी अभियानमा जोडिनुभएका आम मानिसहरुको आर्थिक , सामाजिक साँस्कृतीक विकास र उत्थानको लागी पहलकदमी भुमिका निभाउदै अगाडी बढ्न यसैसँग सम्वन्धित सचेतनामुलक कार्यक्रम, प्रशिक्षण, तालिम तथा गोष्ठी गरि काभ्रे जिल्लालाई सहकारीको माध्यमबाट संबृद्ध बनाउने उद्देश्यका साथ अगाडी बढ्ने छ साथै जिल्लास्तरिय कृषि तथा फलफुल बजार संचालनमा ल्याई कृषक बर्गलाई लाभान्वित गर्ने र संघको भवनलाई सहकारी हवको रुपमा विकास गर्ने अवधारणाका साथ लाग्दै जिल्ला सहकारी संघ आफैमा सक्षम र सवल हुदै नेपालको सर्वोकृष्ट सहकारी संघको रुपमा कायम रहने बातावरण निमार्ण गरिनेछ ।
साथै सहकारी संस्थाहरुलाई दीगो रुपमा सञ्चालन गर्नका लागि संस्थाहरु आफै उत्पादन, बजार र बजारीकरणमा जानु पर्दछ भन्ने सोचका साथ उत्पादनमा आवश्यक सहयोग गर्ने र बजारकिरणका लागि विभिन्न निकायहरुसँग सम्पर्क र समन्वय गर्ने कार्यहरुको नीति संघले लिने छ । हामी आफुले पनि संघमा रहेको भवनलाई प्रयोग गर्दै तरकारी तथा फलफूल जिल्ला बजार सञ्चालन तथा प्रयोगका खाका अगाडि सारेका छौं ।

० अन्त्यमा के भन्न चाहानुहुन्छ ?
सहकारीले प्राप्त गरेको संवैधानिक पहिचानलाई संस्थागत गर्दै सहकारीलाई संविधानले परिकल्पना गरे अनुसार समग्र सदस्य तथा समुदमयको आर्थिक, सामाजिक र सँस्कृतिक विकासको आधार स्तम्भको रुपमा खडा गर्नको लागी संघ निरन्तर प्रयत्नसिल रहने छ र सवै सरोकारवालाहरुसँग पनि के अनुरोध गर्दछु भने सहकारीको स्थायित्व र दिगोपनका लागी आ–आफ्नो क्षेत्रबाट सकरात्मक पहल गर्नुहुन अनुरोध गर्दै संस्थामा केहि समस्याहरु छन भने आउनुस एकै स्थानमा बसौं, समस्या समाधान गरौं संस्थालाई र सहकारी अभियानलाई दीगो र मूर्त रुप दिन सबै मिलेर हातेमालो गर्दै अगाडि बढौ भन्न चाहन्छु ।

साथै मलाई यस मिडिया मार्फत आफ्नो भनाई राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँ लगायत सम्पूर्ण टिमलाई धन्यवाद ब्यक्त गर्न चाहन्छु । जय सहकारी

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..