

काभ्रेपलाञ्चोक । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बेथानचोक गाउँपालिका, लघु उद्यम विकास शाखाको आयोजनामा निःशुल्क १० दिने बारिस्टा तालिम सञ्चालन गरिएको छ। उक्त तालिम इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टर, बनेपाको समन्वयमा आयोजना गरिएको हो।

तालिमको उद्घाटन बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष मधुसूदन तिमल्सिना, वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर लामा, हस्पिटालिटी क्षेत्रका प्रबन्धक कामदेव शाह ठकुरी, प्रमुख प्रशिक्षक नारायण लामा लगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष भगवान अधिकारीले युवालाई सीप प्रदान गरेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले सीपमूलक तालिमलाई निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “यस्ता तालिमले गरिबी निवारणसँगै स्थानीय रोजगारी सिर्जना गर्न ठोस योगदान पुर्याउँछ।”
त्यस्तै, गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले सीप र उद्यमलाई जोडेर मात्र आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो। उहाँले भन्नुभयो, “तालिमपछि सहभागीहरूलाई व्यवसाय सञ्चालन वा रोजगारीमा जोड्न स्थानीय तहले सहजीकरण गर्नुपर्छ।”
यसैगरी, वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर लामाले युवालाई लक्षित गरी सञ्चालन गरिएका यस्ता कार्यक्रमले गाउँमै रोजगारीको वातावरण बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, “सीप सिकेपछि युवाहरू बाहिरिनु पर्दैन, गाउँमै अवसर सिर्जना गर्न सकिन्छ।”
कार्यक्रमका प्रमुख प्रशिक्षक नारायण लामाले तालिम पूर्ण रूपमा व्यवहारिक र रोजगारीमुखी हुने जानकारी दिनुभयो। उहाँका अनुसार, “तालिमबाट सिकेको सीप होटल, क्याफे तथा स्वरोजगारमा तुरुन्त प्रयोग गर्न सकिने गरी प्रशिक्षण दिइनेछ।”
तालिममा प्रशिक्षक मिनु शाहले सहजीकरण गरिरहनुभएको छ भने कार्यक्रमको सञ्चालन लघु उद्यम विकास शाखाकी अम्बिका खरेलले गर्नुभएको थियो।
१० दिने यस तालिमले सहभागीहरूलाई बारिस्टा सीपमा दक्ष बनाउँदै स्वरोजगारतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।



