

काठमाडौँ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा काठमाडौंको सांस्कृतिक तथा ऐतिहासिक नगर किर्तिपुरमा आगामी पुष ११ र १२ गते ‘तेस्रो लायन्स मिनी मेला’ आयोजना हुने भएको छ।

‘समुदाय कल्याण र सांस्कृतिक मेला’ भन्ने नारासहित आयोजना हुने यो मेला किर्तिपुर नगरपालिका वडा नं १, २ र १० का विभिन्न स्थानमा सञ्चालन हुनेछ। ऐतिहासिक चिलञ्चो मन्दिरदेखि उमामहेश्वर मन्दिरसम्मको मार्गलाई समेटेर मेलाको आयोजना गरिनेछ।


डिस्ट्रिक्टको तर्फबाट लायन्स तथा लियो क्लब अफ कीपु, लायन्स क्लब अफ काठमाडौं पद्यमकाष्ठपुर तथा लायन्स तथा लियो क्लब अफ कीर्तिपुरले संयुक्त रूपमा मेलाको आयोजनाको जिम्मेवारी लिएका छन्।
यस मेलाले किर्तिपुरको मौलिक संस्कृति, कला र पहिचानलाई देशभर चिनाउन महत्वपूर्ण योगदान पुग्ने आयोजकको विश्वास छ।
मेलाका अवसरमा स्वास्थ्य सचेतना तथा प्रारम्भिक स्वास्थ्य परीक्षण शिविर पनि सञ्चालन गरिनेछ। आँखा, मधुमेह, दाँत तथा मुख स्वास्थ्य परीक्षणका साथै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम र रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका जीएमटी कोर्डिनेटर रामकृष्ण बिसीका अनुसार मेलामा सहभागीले किर्तिपुरका ऐतिहासिक मन्दिरहरूको जानकारी लिनुका साथै परम्परागत नेवारी सांस्कृतिक प्रस्तुति, लोकसंगीत र नृत्यको प्रत्यक्ष आनन्द लिन सक्नेछन्। साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक कार्यक्रममार्फत भरपूर मनोरञ्जन प्रदान गरिनेछ। मेलामा चौरासी व्यञ्जनसहित मौलिक नेवारी भोजका विविध परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ।
मेलामा ३० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् । स्थानीय उत्पादन, हस्तकला, जैविक सामग्री, प्राविधिक सेवा, शैक्षिक तथा वित्तीय संस्थाका स्टलहरू रहने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका जीएमटी कोर्डिनेटर रामकृष्ण बिसीले जानकारी दिए । उनका अनुसार परिवारसहित दुई दिनसम्म कीर्तिपुरमा रमाइलो गर्न सकिने व्यवस्था मिलाइएको छ भने सहभागीका लागि कीर्तिपुरस्थित होटल तथा होमस्टे सुविधासमेत व्यवस्थापन गरिएको छ ।


