बुडोल सामुदायिक साकोसद्वारा सात दिन, सात विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

बनेपा- बुडोल सामुदायिक साकोसले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी रूपमा ‘विद्यालयमा बुसा’ कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

कार्यक्रममार्फत २९४ जना विद्यार्थी तथा ११ जना शिक्षक–शिक्षिका गरी कुल ३०५ जनालाई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्रदान गरिएको साकोसले जनाएको छ। कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको थियो।

धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालय, बनेपास्थित नाइटिङ्गेल माध्यमिक विद्यालय, बेलर एकेडेमी, शिक्षा सदन माध्यमिक विद्यालय, ज्ञानकुञ्ज माध्यमिक विद्यालय, काभ्रे माध्यमिक विद्यालय तथा आजाद माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको थियो।

आर्थिक सहयोग तथा विकास संगठनको संयोजनमा सन् २०१२ देखि विश्वभर मनाइँदै आएको ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मार्च १६ देखि २२ सम्म मनाइएको हो।

कार्यक्रममा विद्यार्थीहरूलाई बचत, बजेट व्यवस्थापन, जिम्मेवार खर्च तथा वित्तीय निर्णयसम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको बताइएको छ।