मटिहानीमा ‘मटकोर’ उत्सवका लागि तयारी तिब्र

महोत्तरीको मटिहानीमा यस वर्षको राम–जानकी विवाहपञ्चमी अघिको ‘मटकोर’ उत्सवका लागि तयारी तीव्र भएको छ। जनकपुरमा शुरु भएको साताव्यापी विवाह महोत्सवको क्रममा सोमबार मटिहानीस्थित लक्ष्मीनारायण मठमा ‘मटकोर’ विधि सम्पन्न गरिनेछ।

त्रेतायुगमा श्रीराम–सीताको विवाहमा यज्ञवेदीका लागि यही ठाउँबाट माटो खनिएको विश्वास रहँदै आएको छ। यही परम्पराअनुसार विवाहको एक दिनअघि महिलाहरू बाजागाजासहित पवित्र स्थानबाट माटो संकलन, भूमि पूजन र लिपपोत गर्ने चलन रहेको मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताए।

बिज्ञापन

‘मटकोर’सँगै भारतका विभिन्न प्रदेशबाट आउने साधुसन्तको स्वागत, आवास र भोजनको तयारी पनि गरिएको छ। उनीहरू विवाहपञ्चमीका दिन जनकपुर पुग्नुअघि मटिहानीमा बस्ने परम्परा छ।

साताव्यापी विवाह महोत्सवमा नगर दर्शन, फूलबारी लीला, धनुषयज्ञ, तीलकोत्सव, मटकोर, स्वयम्वर–विवाह र रामकलेवा गरी सात दिनका कार्यक्रमहरू क्रमशः सम्पन्न हुँदैछन्। जनकपुर र सम्पूर्ण मिथिला क्षेत्र हाल उत्सवमय बनेको छ।