
काठमाडौं,
मंसिर २३ ।

चलचित्र ‘झिँगेदाउ २’को छायांकन सुरु भएको छ । सोमबार शुभमुहूर्त गरिएको यो चलचित्रको छायांकन काभ्रेको पनौतीबाट सुरू गरिएको हो । ‘झिँगेदाउ’को सिक्वेलको छाया.कन सुरु गरिएको निर्माता समेत रहनुभएका निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी गराउनुभयो ।
मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट छायांकन सुरु भएको सिनेमाको सेड्युल ६० दिनको राखिएको छ ।

यस चलचित्रका लागि काभ्रेको पनौतीमा भव्य सेट लगाइएको छ । त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा यो चलचित्रको छायांकन गरिनेछ ।


अर्को वर्षको दशैंमा रिलिज लक्ष्य राखिएको यस चलचित्रको कथा ‘झिँगेदाउ’ सकिएको दृश्यबाट नै निरन्तरता दिएको छ ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रमा आर्यनसहित सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, उत्तम केसी, शिवहरी वैरागी, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, नरेन्द्र थापा, हिँउवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक ज्ञानेन्द्र देउजाको नै कथा रहेको सिनेमाको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेख्नुभएको हो । रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डि गुरुङको सम्पादन रहने चलचित्रमा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर र चन्द्र भण्डारी मुख्य सहायक निर्देशक अनि पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशक हुनुहुन्छ ।
बिष्णु घिमिरे ‘कल्पित’को छायांकन रहने चलचित्रमा निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुनुहुन्छ ।


