आर्शु स्मृति प्रतिष्ठानद्वारा लक्ष्मी तामाङको निःशुल्क उपचार

 

बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–९ निवासी लक्ष्मी तामाङको निःशुल्क उपचार आर्शु स्मृति प्रतिष्ठानले गरेको छ । घाँस काट्न जाने क्रममा भिरबाट लडेर गम्भीर घाइते हुनुभएकी तामाङको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले प्रतिष्ठानले उपचारको जिम्मा लिएको हो।

बिज्ञापन

माघ १३ गते घाँस काट्ने क्रममा भएको दुर्घटनामा तामाङको खुट्टा भाँचिएको थियो। उपचार खर्च धान्न असमर्थ भएपछि स्थानीय वडा अध्यक्ष दलबहादुर तामाङले सिफारिस गरेपछि आर्शु स्मृति प्रतिष्ठानले पहल गरेको प्रतिष्ठानका प्रतिनिधि रुपेश काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार तामाङको उपचारका लागि धुलिखेल अस्पतालमा सिफारिस गरिएको छ।

आर्शु काफ्लेको स्मृतिमा स्थापना गरिएको आर्शु स्मृति प्रतिष्ठानले यसअघि पनि आर्थिक रूपमा विपन्न तथा असहाय नागरिकहरूको उपचारमा सहयोग गर्दै आएको छ। मानवीय सेवालाई आफ्नो प्रमुख उद्देश्य बनाएको प्रतिष्ठानले दुःखमा परेकाहरूका लागि सहारा बन्दै आएको छ।