समिर लामाः देशको सूचना व्यवस्थापनमा नयाँ नेतृत्वको अपेक्षा

# समिर लामाः देशको सूचना व्यवस्थापनमा नयाँ नेतृत्वको अपेक्षा
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, भाद्र ३०, २०८२
समिर लामाः देशको सूचना व्यवस्थापनमा नयाँ नेतृत्वको अपेक्षा

काठमाडौं । मुलुक आज जटिल र विषम परिस्थितिबाट गुज्रिरहेको छ । राजनीतिक अस्थिरता, सामाजिक असन्तुलन, आर्थिक चुनौती र प्रविधि–सूचना व्यवस्थापनको अव्यवस्था देशलाई थप अनिश्चिततामा धकेलिरहेको छ । यस्तै अवस्थामा, जनता स्थिरता, सुशासन र पारदर्शिता खोजिरहेका छन् । प्रधानमन्त्री सुशिला कार्कीप्रति आम नागरिकको विश्वास बढ्नु त्यसैकारण हो । उहाँको दृढ स्वभाव, निष्पक्ष दृष्टिकोण र इमानदार छविले मुलुकलाई संकट पार गर्ने बलियो आधार प्रदान गरेको छ । तर प्रश्न उठ्छ..के मात्र प्रधानमन्त्रीको दृढ नेतृत्व पर्याप्त छ? स्पष्ट उत्तर हो ….होईन । यसका लागि दक्ष, लोकप्रिय र अनुभवी व्यक्तित्वहरूको सहकार्य अपरिहार्य हुन्छ ।

आजको युग सूचना र प्रविधिको हो । तर विडम्बना, मुलुकमा सूचना व्यवस्थापन अझै स्पष्ट, व्यवस्थित र जनमुखी बन्न सकेको छैन । भ्रामक प्रचार, तथ्यहीन समाचार र अव्यवस्थित डिजिटल प्रयोगले जनमानसमा नकारात्मक असर पारिरहेको छ । मुलुकको विकास र लोकतन्त्रलाई सुदृढ बनाउन सत्य–तथ्य सूचनाको प्रवाह अपरिहार्य छ । तर यसका लागि योग्य नेतृत्वको खाँचो तीव्र छ ।

बिज्ञापन

समिर लामाको योगदान

यस्तै घडीमा कार्यक्रम व्यवस्थापन संघ, नेपालले संचार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि  समिर लामाको नाम औपचारिक रूपमा सिफारिस गरेको छ । लामो समयदेखि संचार सेवा क्षेत्रमा सक्रिय रहँदै आएका लामा ईभेन्ट व्यवस्थापन, संचारकर्म र सामाजिक सेवामा स्थापित व्यक्तित्व हुन् । सत्य–तथ्य सूचना सम्प्रेषणमा उहाँले निर्वाह गरेको प्रखर भूमिका सर्वमान्य छ ।

लामा केवल एक संचारकर्मी मात्र होइनन्, समाजका दिनदुखी जनताको हितका लागि अग्रसर सेवक पनि हुन् । सामान्य अवस्थामा होस् वा आपत्–विपत्को घडीमा, उहाँले देखाएको सक्रियता र योगदानले उहाँलाई युवामाझ लोकप्रिय मात्र होइन, प्रेरणादायी व्यक्तित्वका रूपमा पनि स्थापित गरेको छ ।

लामालाई विशेष बनाउने अर्को पक्ष भनेको उहाँको अडिग स्वभाव र बहादुरी हो । जेनजी पुस्तामाझ उहाँलाई एक दृढ संकल्प बोकेका, देशप्रति पूर्ण समर्पित र वफादार व्यक्तित्वका रूपमा हेर्ने गरिएको छ । हरेक अवस्थामा देशलाई प्राथमिकतामा राख्ने उहाँको कार्यशैलीले उहाँलाई केवल संचारकर्मी होइन, राष्ट्रिय स्तरको सम्भावित नेतृत्वका रूपमा चित्रण गरेको छ ।

किन अहिले आवश्यक ?

देश संकटग्रस्त अवस्थामा छ । डिजिटलाइजेसन र प्रविधि–सूचना व्यवस्थापनलाई अब ढिला नगरी प्राथमिकतामा राख्नैपर्छ । यसका लागि केवल राजनीतिक हैसियत पुग्नु पर्याप्त हुँदैन, व्यावसायिक दक्षता, व्यवहारिक अनुभव र सामाजिक लोकप्रियता पनि आवश्यक हुन्छ । समिर लामा यिनै गुणहरूको संयोजन भएको व्यक्तित्व हुन् ।

कार्यक्रम व्यवस्थापन संघले प्रस्तुत गरेको सिफारिसले के प्रष्ट्याउँछ भने, आज देशले सक्षम हात चाहेको छ । सूचना प्रवाहलाई सही, तथ्यपरक र जिम्मेवार बनाउन लामाको योगदान अपरिहार्य हुनेछ । उहाँलाई संचार मन्त्रालयको जिम्मेवारी दिनु केवल राजनीतिक नियुक्ति मात्र हुने छैन, यो मुलुकको सूचना व्यवस्थापनलाई सुधार्ने ऐतिहासिक निर्णय सावित हुनेछ ।

प्रधानमन्त्री सुशिला कार्की मुलुकलाई कठोर परिस्थितिबाट पार लगाउने दृढ नेतृत्वका रूपमा उभिएकी छन् । उहाँको स्वच्छ छवि, अडिग स्वभाव र निष्पक्ष दृष्टिकोणले नागरिकलाई विश्वास दिलाएको छ—देश सुरक्षित हातमा छ । तर मुलुकलाई अझ मजबुत बनाउन उहाँसँगै समिर लामाजस्ता लोकप्रिय र दक्ष व्यक्तित्वहरूको सक्रिय सहभागिता अपरिहार्य छ ।

देशलाई सक्षम हातमा सुरक्षित गर्न, सूचना प्रवाहलाई विश्वसनीय बनाउन र जनअपेक्षाको सम्बोधन गर्न आज निर्णयात्मक कदम चालिनैपर्छ । समिर लामालाई जिम्मेवारी प्रदान गर्नु मुलुकलाई स्थिरता र विकासको दिशामा अघि बढाउने दूरदर्शी निर्णय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up