बनेपामा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सरोकारवालासँग अन्तरक्रिया

बनेपा । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बनेपा नगरपालिकाले बुधबार सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार, पहुँच र सेवामा सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै उप–प्रमुख बिमला सापकोटा दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल सहयोगका पात्रको रूपमा होइन, अधिकारसहित समाजको सक्रिय सदस्यका रूपमा हेरिनुपर्ने आवश्यकता औंल्याइन्।
उनले भनिन्, “अपाङ्गता भएका व्यक्तिहरूलाई अधिकार र सम्मानसहित अघि बढाउन स्थानीय सरकारको भूमिका निर्णायक हुन्छ। नगरपालिकाले सेवा तथा सुविधा विस्तारमा ध्यान दिइरहेको छ, तर अझ प्रभावकारी रूपमा काम गर्न सबै पक्षको सहकार्य अपरिहार्य छ।”

बिज्ञापन

उप–प्रमुख दाहालले विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी तथा सार्वजनिक भवनहरूमा पहुँच विस्तार अझ प्रभावकारी बनाउन नीतिगत र व्यावहारिक दुवै तहमा काम गरिने बताइन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले नगरपालिकाले आगामी दिनमा अपाङ्गता मैत्री पूर्वाधार निर्माण, सेवा–सुविधाको सरलीकरण तथा सामाजिक सुरक्षा प्रक्रियालाई डिजिटल माध्यमबाट सहज बनाउने तयारी अघि बढाइरहेको जानकारी दिए।

उनका अनुसार, “अपाङ्गता मैत्री सेवा र पहुँच सुनिश्चित गर्नु अहिले नगरपालिकाको प्राथमिकतामध्ये एक हो। यसका लागि मन्त्रालय, प्रदेश, स्थानीय समुदाय र संघसंस्थासँग सहकार्य गर्दै जानेछौँ।”

महिला शाखा प्रमुख भगवती तामाङले अपाङ्गता भएका व्यक्तिहरूका लागि सीप विकास, आत्मरोजगार, सामाजिक पुनर्स्थापना तथा मनो–सामाजिक समर्थन कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको उल्लेख गरिन्। उनले भनिन्, “नगरपालिका सहयोग मात्र होइन, अवसर सिर्जना गर्ने दिशामा केन्द्रित छ। अपाङ्गता भएकामाथि निर्भरता होइन, स्वावलम्बन बढाउनु हाम्रो लक्ष्य हो।”

कार्यक्रममा नगरका जनप्रतिनिधि, विभिन्न संघ–संस्था, कर्मचारी, अपाङ्गता अधिकारकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले स्थानीय तहमा अझ अपाङ्गता मैत्री वातावरण बनाउन आवश्यक सुधार तथा कदमबारे सुझाव पनि दिएका थिए।