काभ्रे । जिल्लाको बनेपामा प्रस्तावित फिल्म छायांकन स्टुडियोको निर्माण सन् २०२६ सम्म पूरा गर्ने लक्ष्य लिइएको छ । सन् २०२४ भित्र शिलान्यास गर्ने योजनामा चलचित्र विकास बोर्ड छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य सचिव राजेशकुमार थापा, बनेपा नगरपालिका १० र १३ का वडाध्यक्षहरु र स्थानीय प्रतिनिधिले स्टुडियो निर्माण हुने थलोको अवलोकन भ्रमण गरेका छन् ।
अवलोकनपछि अध्यक्ष डिसीले सन् २०२६ भित्रै निर्माण पूरा गर्ने आफूहरुको लक्ष्य रहेको बताए । उनले यसका लागि सात दिनभित्र चारकिल्ला तोक्ने बोर्डको तयारी छ ।
असार २८ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेको बनेपामा अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।
बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको उक्त स्थलको जग्गालाई प्रयोग गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको थियो । फिल्म स्टुडियोको निर्माण लागत ३९ करोड रुपैयाँ बताइएको छ ।