उच्च शिक्षालाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक : प्रधानमन्त्री कार्की

# उच्च शिक्षालाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक : प्रधानमन्त्री कार्की
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, पुष १०, २०८२
उच्च शिक्षालाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहस, अनुसन्धान र नवप्रवर्तनको थलोका रूपमा विकास गर्न सबै पक्षले साझा प्रयत्न गर्नुपर्ने बताउनुभएको छ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई कुलपतिका रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले देशको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि अपरिहार्य भएको उल्लेख गर्नुभयो।

बिज्ञापन
उहाँले उच्च शिक्षा क्षेत्रमा परिवर्तनको आकाङ्क्षा स्वाभाविक भएको उल्लेख गर्दै यस क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त गर्न आवश्यक रहेको बताउनुभयो। “शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको छ भन्ने बुझेरै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरिएको हो,” उहाँले भन्नुभयो। यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको उहाँको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले दीक्षान्त समारोह विश्वविद्यालय जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै दीक्षान्त आफैमा गन्तव्य नभई कक्षा कोठा र अनुसन्धानशालामा प्राप्त ज्ञानलाई मानव विकासका लागि प्रयोग गर्ने नयाँ यात्राको सुरुआत भएको बताउनुभयो।

उहाँले प्रविधिको तीव्र परिवर्तन, रोजगारीको बढ्दो प्रतिस्पर्धा, जलवायु परिवर्तन, सामाजिक असमानता, नैतिक द्विविधा तथा विश्वव्यापी अनिश्चितताजस्ता चुनौती सामना गर्नुपर्ने उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरूले यस्ता चुनौती सामना गर्दै मानव विकास र विश्व बन्धुत्वका लागि अर्थपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालयको ठूलो संरचना र आकारले मात्र गुणस्तरीय तथा अन्तरराष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने स्पष्ट पार्दै प्राध्यापक–विद्यार्थी अनुपात सन्तुलनमा राखी गुणस्तरीय शिक्षा र उच्चस्तरीय अनुसन्धान तथा प्रकाशनमा सबै पक्ष थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

उच्च शिक्षाका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी विदेश गइरहेको सन्दर्भमा उहाँले स्वदेशमै शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम गर्दै समयानुकूल, व्यवहारिक र नवीन शैक्षिक कार्यक्रम विस्तार गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up