काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक बजार अनुगमन थालेको छ ।

उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको अगुवाईमा आज कुन्ताबेसीबाट बजार अनुगमन प्रारम्भ गरिएको हो । पहिलो दिन कुन्ताबेसीका किराना, तरकारी, फलफूल, मिठाई पसल, मासु पसल, खाद्यन्न पसल, हार्डवेयर पसलको अनुगमन गरिएको छ ।

केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो । ‘चाडपर्वमा बजारमा किनमेल बढी हुने र यही बेला मौका छोप्ने प्रबृत्ति बढ्न सक्ने तर्फ सजग हुँदै बजार अनुगमन थालेका हौँ । शुरुवात भएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौँ ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

३ वटा समूहमा विषयगत शाखा प्रमुख एवं प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको टोली बजार अनुगमनमा खट्ने गरी ब्यवस्था मिलाइएको छ । ‘बजारको अवस्था बुझ्न, म्याद नाघेको अखाद्य सामग्री बेचविखन नहोस्, उपभोक्ता र ब्यवसायी दुबैलाई सचेत गराउन अनुगमनले महत्वपूर्ण भूमिका लेख्ने छ । यस्ता अनुगमनले बजारलाई अझ बढी मर्यादित बनाउन सहयोग पुग्छ भन्ने अपेक्षा राखेका छौँ ।’ उपप्रमुख नेपालको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं बजार निरीक्षक अधिकृत मान बहादुर खड्काले बजार अनुगमनलाई नियमित गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘स्थानीय सरकार सञ्चालन ऐनले समेत बजार अनुगमनको अधिकार दिएको छ । हामीले बजार उपभोक्ताको हितमा राख्न सक्नुपर्छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरी बजारमा हुने सबै प्रकारका गतिविधि नियन्त्रण गर्न पनि अनुगमन आवश्यक छ ।’ खड्काले भन्नुभयो ।

उद्योग वाणिज्य संघ मण्डनदेउपुरका अध्यक्ष बद्री प्रसाद नेपालले नगरपालिकाले पहिलो पटक बजार अनुगमन गरेर राम्रो कामको सुरुवात गरेको बताउनुभयो । ‘बजार अनुगमन गर्न आयो भनेर डराउनै पर्दैन । आफु र आफ्नो ब्यापार, ब्यवसाय, ऐन, नियम र कानुनको परिधिभित्र छ भने जुन सुकै निकाय, जतिबेला आएर अनुगमन गर्दा पनि हुन्छ । अनुगमनले गल्ती भए आगामीदिनमा सच्याउन सहयोग पुग्छ । हामीले यसअघिदेखि नै बजार अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्दै आएका थियौँ ।’ अध्यक्ष नेपालले भन्नुभयो ।

नगरपालिकाभित्रका सबै बजार क्षेत्रमा अनुगमन गरिने बताइएको छ । बरामद भएका सामग्री नष्ट गरिनेछ । मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसी, सिपाघाट, हिगुवाटी, नगरकोट क्षेत्रमा बजारको संख्या धेरै छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..