
धुलिखेल – ‘डिजिटल एजेन्डा एन्ड आर्टिफिसियल इन्टेलिजेन्स टु रिडिजाइन टुरिजम’ भन्ने नाराका साथ उद्योग वाणिज्य तथा पर्यटन कार्यालय काभ्रेपलाञ्चोकले पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य तथा पर्यटन कार्यालयका प्रमुख रविन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक मेयर निराजन जङ्गम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, होटल एसोसिएसन नेपाल काभ्रेका अध्यक्ष प्रलाद प्याकुरेल, धुलिखेल उद्योग वाणिज्य संघका महासचिव अनन्तकृष्ण श्रेष्ठ, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले पर्यटन प्रवर्द्धनका लागि सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, व्यवसायी र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। आफू विभिन्न स्थानमा पुग्दा त्यहाँका पर्यटकीय क्षेत्रको ड्रोन दृश्य तथा जानकारीमूलक सामग्री तयार गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्दै आएको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनमा सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।


धुलिखेल नगरपालिकाका कार्यवाहक मेयर निराजन जङ्गमले प्रविधि र एआईको प्रयोगलाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए। धुलिखेलको पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहकार्य गर्न आफू तयार रहेको उनको भनाइ थियो।
कार्यक्रममा होटल एसोसिएसन नेपाल काभ्रेका अध्यक्ष प्रलाद प्याकुरेलले धुलिखेललाई पर्यटनको हबका रूपमा विकास गर्दै जिल्लाका १३ वटै स्थानीय तहका पर्यटकीय गन्तव्यलाई एकीकृत रूपमा प्रवर्द्धन गर्नुपर्ने बताए। उनले गुणस्तरीय आतिथ्यता, पर्यटकीय गन्तव्यको पहिचान तथा अभिलेखीकरण, डिजिटल प्रचारप्रसार र पर्यटकको बसाइ लम्ब्याउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।प्याकुरेलले काठमाडौंको ठमेलबाट धुलिखेलसम्म नियमित पर्यटक बस सञ्चालन गर्न तथा पोखरा, लुम्बिनीलगायत प्रमुख पर्यटकीय क्षेत्रबाट धुलिखेलमा सिधा यातायात सेवा विस्तार गर्नुपर्ने बताए। धुलिखेललाई जिल्लाका प्रमुख पर्यटन उत्पादनसँग जोडेर नेपालकै पर्यटकमैत्री सहरका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपानेले AI को जमाना भनिएपनि सामान्य र आधारभुत क्षेत्रमा सुधार गर्न सकिएन पर्यटन व्यवसायलाई दिगो र व्यवस्थित गर्न सकिने बताए ।
धुलिखेल उद्योग वाणिज्य संघका महासचिव अनन्तकृष्ण श्रेष्ठले ग्रामीण क्षेत्रमा सञ्चालन भएका होमस्टेलाई प्रभावकारी बनाउन स्थानीय उत्पादन, संस्कृति र मौलिक वस्तुको बजारीकरण गर्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले स्थानीय सांस्कृतिक तथा मौलिक उत्पादनलाई पर्यटनसँग जोड्न सके दीगो आम्दानीको आधार तयार हुने बताए। उनले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रसँग सहकार्य गर्न महासंघ संस्थागत रूपमा तयार रहेको बताए।
कार्यक्रममा हानका कार्यकारी सदस्य मनिष श्रेष्ठले काभ्रेका पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध गराउन क्यूआर कोडको प्रयोग गर्न सकिने बताए।
कार्यालय प्रमुख रविन घिमिरेले काभ्रेपलाञ्चोक प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले पर्यटनको ठूलो सम्भावना बोकेको जिल्ला भएको बताए। उनले धार्मिक, ग्रामीण, सांस्कृतिक, साहसिक तथा प्राकृतिक पर्यटनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकमा पर्यटन क्षेत्रमा करिब ३० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। उक्त बजेटको करिब ५० प्रतिशत धार्मिक पर्यटनतर्फ केन्द्रित रहेको उल्लेख गर्दै घिमिरेले पर्यटनलाई मठमन्दिर र गुम्बामा मात्र सीमित नगरी समग्र पर्यटन क्षेत्रको विकासमा केन्द्रित गर्नुपर्ने बताए।

घिमिरेले पर्यटनलाई केवल घुमफिरको विषयका रूपमा नभई स्थानीय उत्पादन, कृषि, होटल, होमस्टे, यातायात, रोजगारी र उद्यमशीलतासँग जोडिएको आर्थिक गतिविधिका रूपमा अघि बढाउनुपर्ने बताए। स्थानीय समुदायको आयआर्जन र स्वरोजगार बढाउन सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को उपयोगमार्फत काभ्रेका पर्यटकीय गन्तव्यको प्रचार, सूचना प्रवाह, सेवा व्यवस्थापन र पर्यटक आकर्षणलाई थप प्रभावकारी बनाउन सकिने धारणा राखेका थिए।

