
धुलिखेल । नेपाली कांग्रेस धुलिखेल नगर सभापति पदका लागि सुरज श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

श्रेष्ठले विगत १५ वर्षदेखि नेपाली कांग्रेसको धुलिखेल नगर संगठनमा रहेर निरन्तर काम गर्दै आएको बताएका छन्। नगर सदस्यबाट सुरु भएको आफ्नो राजनीतिक यात्रा दुई कार्यकाल नगर सचिवको जिम्मेवारी सम्हाल्दै अघि बढेको उनले उल्लेख गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको हितविपरीत आफू कहिल्यै नलागेको दाबी गरेका छन्। वडा तथा जिल्लाका नेतृत्वबाट प्राप्त निर्देशनलाई आत्मसात् गर्दै जिम्मेवारी पूरा गरेको र पार्टीभित्र विभिन्न विषम परिस्थिति आए पनि आफू आफ्नो जिम्मेवारीबाट विचलित नभएको उनले बताएका छन्।


‘पार्टी हितविपरीत हुने कुनै पनि कार्यमा म कहिल्यै लागिनँ र मेरो श्वास रहेसम्म पनि पार्टीप्रतिको निष्ठाबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गर्दछु,’ श्रेष्ठले भनेका छन्।
उनले आफ्नो विगतका गुण तथा दोषभन्दा पनि पार्टीप्रतिको आफ्नो निरन्तर निष्ठा, सक्रियता र योगदानलाई मूल्याङ्कन गरी नगर सभापतिमा समर्थन तथा सहयोग गर्न नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।
श्रेष्ठले आफूलाई सभापति पदमा विजयी गराउने विश्वाससमेत व्यक्त गर्दै पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्

