बेथानचोक गाउँपालिकाको वडा नं. ३ लाई सोमबार एक कार्यक्रम बीच “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।”
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा जारी घोषणा पत्रमा भनिएको छः “काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं. ३ मार्फत मिति २०८० जेष्ठ १४ गते देखि १७ गते सम्म संकलन गरिएको विद्यालय बाहिर रहेका ४ वर्ष पूरा भई १३ वर्ष पूरा नभएका बालबालिकाको वैयक्तिक विवरण ५ सय ५० घरधुरीमा संकलन गर्दा वडा भित्रका कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाईएकाले मिति २०८० साल जेष्ठ २६ गते शुक्रबार बसेको वडा समितिको निर्णय र वडा अध्यक्ष श्री कुबेर ढकालज्यूको प्रस्ताव अनुसार आज मिति २०८० साल जेष्ठ २९ गते सोमबारका दिन अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा गाउँपालिकामा लागू गरिएको र बाँकी सबै वडाहरुमा पनि अभियानले सार्थकता पाई गाउँपालिका नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने बताउनु भयो ।

कार्यक्रममा ३ नं. वडा अध्यक्ष कुवेर ढकालले विद्यालय भर्ना नभएका, अपाङ्गता भएका, अभिभावकविहीन, गरिबी वा अन्य कुनै कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने नीतिअनुसार गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेकोमा वडामा सर्वेक्षण गरिएको उहाँको भनाई थियो । कार्यक्रमले चार वर्ष पुरा भई १३ वर्ष ननाघेका बालबालिका खोजपड्ताल गरिएको र जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षकमार्फत शिक्षा दिइने र गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने नीति अनुरुप  शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिएको, सूचक बनाएर टोली खटाइएको, वडा स्तरमा जनप्रतिनिधि(वडा सदस्य)लाईसमेत परिचालन गरिएको र त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र गाउँपालिकाले पनि ‘क्रस भेरिफाइ’ गर्दा वडा भित्रका कुनै पनि बालबालिकाहरु विद्यालय बाहिर नरहेको पाईएकाले वडालाई “अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको बताउनु भयो ।

कार्यक्रममा बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना, शिक्षा शाखा प्रमुख पुष्पा राई, तथ्यांक संकलकहरु, उपचारतात्मक शिक्षकका शिक्षिकाहरु, बाल सञ्जाल, बडास्तरीय बाल क्लब, विद्यालय प्रतिनिधि, वडा स्वास्थ्य इकाईका कर्मचारी, दलीय प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । गाउँपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म ढङ्गले लगत सङ्कलन गरेको थियो । कार्यक्रम फागुन महिनादेखि लागू भएको कार्यक्रममा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly