

धुलिखेल । बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ धुलिखेलमा डि–टाउन बास्केटबल एकेडेमी (D-Town Basketball Academy) को औपचारिक सुरुवात गरिएको छ।

एकेडेमीको शुभारम्भ कार्यक्रममा धुलिखेल नगर प्रमुख अशोक ब्यान्जु श्रेष्ठले नगरभित्र चाँडै नै सुविधा सम्पन्न बास्केटबल मैदान निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बास्केटबलजस्ता खेलले युवालाई अनुशासन, स्वास्थ्य र सकारात्मक दिशातर्फ उन्मुख गराउने भन्दै नगरपालिकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो।


कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष पवन कुमार थापाले स्थानीय तहमा यस्ता एकेडेमीको स्थापना हुनु नेपाली बास्केटबलको भविष्यका लागि उत्साहजनक भएको उल्लेख गर्नुभयो। उहाँले संघको तर्फबाट आवश्यक सहकार्य रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
त्यसैगरी कार्यक्रममा काभ्रे बास्केटबल संघका पदाधिकारीहरू, पत्रकार तथा खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले डि–टाउन बास्केटबल एकेडेमीले काभ्रे जिल्लामा बास्केटबल खेलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
एकेडेमीमार्फत नियमित प्रशिक्षण, प्रतिस्पर्धात्मक खेल र प्रतिभा पहिचानका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।


