लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध पत्रकार महासंघ काभ्रेको ज्ञापनपत्र

धुलिखेल – नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले प्राप्त गर्ने रकममा भारी कटौती गर्नेगरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै जिल्ला हुलाक कार्यालय काभ्रेलाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष विनोद कुमार न्यौपानेको नेतृत्वमा गएको टोलीले जिल्ला हुलाक कार्यालय काभ्रेका निमित्त कार्यालय प्रमुख अन्जना निरौला तामाङलाई ज्ञापनपत्र बुझाएको हो।

बिज्ञापन

महासंघले उक्त कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। विज्ञप्तिको पाठ नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक सचिव नगेन्द्र अधिकारीले वाचन गरेर सुनाउनुभएको थियो ।

ज्ञापनपत्रमार्फत महासंघले सञ्चारमाध्यम र सञ्चारकर्मीको हितमा रहेका आफ्ना मागहरूको यथोचित सम्बोधन गर्न सरकारसँग माग गरेको छ।

माग सम्बोधन नभए यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने महासंघले जनाएको छ। ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्लामा सक्रिय सञ्चारकर्मी तथा जिल्ला हुलाक कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।