

लेखक: जीवन भुजेल
ठेगाना: बनेपा नगरपालिका–१०, काभ्रे
हाम्रो गाउँ, हाम्रो समाज, र हाम्रो जीवनशैली सुधार्नका लागि हामी सबैको एउटै सपना हुन्छ — सुरक्षित, सफा, शान्त र समुन्नत बस्ती। म जीवन भुजेल, बनेपा नगरपालिका–१० निवासी, आफ्नो मनको गहिराइबाट एक आदर्श वडाको कल्पना गर्दछु — जहाँ मान्छे, प्रकृति र प्रविधि एकसाथ अघि बढ्दछन्। यो सपना मेरो व्यक्तिगत चाहना मात्र होइन, समग्र समाजको आवश्यकताको प्रतिविम्ब हो।


१. आवास र घरपरिसर



मेरो वडामा प्रत्येक घर सानो भए पनि सफा, व्यवस्थित र वातावरणमैत्री होस्।
घर अगाडि सानो आँगन होस्, जहाँ कम्तीमा दुईवटा फलफूलका बोटहरू लहराउँछन्।
साधारण तर सुन्दर — सबै घरमा सानो निजी पार्किङको व्यवस्था होस्।
पिउने पानीको लागि घरमै सुरक्षित र निरन्तर धारोबाट आपूर्ति होस्, ताकि कसैलाई धारो खोज्दै भौतारिनु नपरोस्।

साथै, वडाको सुन्दरता र एकताको प्रतीकस्वरूप सबै घरहरू एउटै रङ समूहमा सजिएका होउन्। हल्का क्रीम, आकाशी निलो, माटो रङ वा हल्का हरियो जस्ता वातावरणमैत्री रङहरूले वडा एकनास, शान्त र सौन्दर्यपूर्ण देखियोस्।
२. सडक र यातायात पूर्वाधार
घरबाट निस्कनासाथ धुलो वा हिलो होइन, सफा कालोपत्रे बाटो पाइयोस्।
बाटोको दायाँ–बायाँ हरियाली, फूलबारी र बोट बिरुवा होउन् — जहाँ चराहरू चिरबिर गरून्।
केही परतिर विश्राम गर्न मिल्ने छायादार बेंचसहित विश्राम स्थल होस्।
हिँड्दाहिँड्दै पिउने पानी पाउने धारा बाटोमा मिलोस्, जस्को पानी स्वच्छ र निःशुल्क होस्।
यात्राका लागि सार्वजनिक यातायात समयमै चल्ने, सुरक्षित र सस्तो होस् — सबै वर्गका लागि पहुँचयोग्य।
३. सार्वजनिक सेवा र पहुँच
वडामा गुणस्तरीय अस्पताल वा स्वास्थ्य केन्द्र होस् — जुनसुकै रोग लाग्दा पनि तत्काल उपचार मिल्ने सुविधा होस्।
बालबालिकाको लागि नजिकै सरकारी वा सामुदायिक विद्यालय होस् — शिक्षामा पहुँच सबैको सुनिश्चित गरियोस्।
शान्तिका लागि प्रहरी बिट होस्, जहाँ जनमैत्री व्यवहार पाइयोस्।
हामीलाई सुरक्षा पनि मिलोस्, र सँगै अपनत्व पनि महसुस होस्।
४. प्रकृति र वातावरण संरक्षण
वडाको चारैतिर हरियाली पार्क होउन् — जहाँ वृद्ध, बालबालिका र युवाहरू सबै रमाउन सकून्।
खोलाहरू सफा गरिएका होउन् — जसमा माछाहरू स्वतन्त्र रूपमा पौडिरहेका देख्न पाइयोस्।
वन्यजन्तु, चराचुरुङ्गी र बोटबिरुवाको संरक्षणमा वडा अग्रसर रहोस्।
फोहोर व्यवस्थापन व्यवस्थित होस् — प्लास्टिक घटाउने र कम्पोस्ट बढाउने योजना लागू गरियोस्।
५. धार्मिक, सांस्कृतिक र सामाजिक संरचना
वडामा सबै धर्म र संस्कृतिलाई अँगाल्ने खुला र समावेशी मन्दिर होस्।
सामाजिक मेलमिलाप, चाडपर्व, जातीय एकता जस्ता मूल्यहरूमा आधारित सांस्कृतिक गतिविधिहरू नियमित गरियोस्।
समाजमा सँगै बसेर हाँस्न, रमाउन र एक अर्कालाई सहयोग गर्न सकिने वातावरण बनाइयोस्।
६. कृषि, रोजगार र समृद्धि
वडाको तल्लो भूभागमा उपज हुने उब्जाउ खेतहरूको संरक्षण गरियोस्।
माथिल्लो भूभागमा योजनाबद्ध र सफा बसोबास होस् — अनियन्त्रित बस्ती विस्तार नगरियोस्।
रोजगारीको अवसर गाउँमै सिर्जना गरियोस् — सीपमूलक तालिम, साना उद्यम, सहकारी र प्रविधिको माध्यमबाट।
यसरी गाउँका युवाहरूले विदेश नजाने सपना होइन, गाउँमै बसेर बिदेसजस्तै अवसर पाउने जीवन होस्।
यही हो — मेरो सपना वडा।
जहाँ मान्छे हाँस्छ, प्रकृति रमाउँछ, र भविष्य सुरक्षित हुन्छ।
धन्यवाद