
नाग पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज देशभरका हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिका साथ मनाउँदै छन्।
नाग पञ्चमीका अवसरमा घर तथा कार्यालयका मूल ढोकामा नागको तस्बिर टाँसेर नाग देवताको पूजा–आराधना गर्ने परम्परा रहेको छ। बिहानै स्नान गरी दियो, कलश र गणेशको पूजा गरेपछि घरको ढोकामा गाईको गोबर प्रयोग गरी नागको चित्र टाँस्ने गरिन्छ।
नागको चित्रमा दही, दुबो, कुश, सिन्दूर र चन्दन अर्पण गरी पूजा गर्ने चलन छ। यसरी नागको पूजा गरेमा वर्षभरि सर्प, बिच्छीजस्ता विषालु जीवको भय नहुने धार्मिक विश्वास रहेको छ। साथै, नागको पूजा गर्नाले अग्नि, मेघ र चट्याङको जोखिमबाट समेत बच्न सकिने जनविश्वास रहिआएको छ।
नाग पञ्चमीको अवसरमा काठमाडौँको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका विभिन्न नागदह, कुण्ड तथा नाग स्थानहरूमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्दछ।





