नमोबुद्ध – फ्रान्सको माथिल्लो सदनका दुई जना सदस्यले नमोबुद्ध नगरपालिका–२ मा सञ्चालित जलवायु अनुकुलन समाधान कार्यक्रम अबलोकन गरेका छन् । सो संसदको फ्रान्स–नेपाल मैत्री समुहका अध्यक्ष रहेका सांसद डेनियल साल्मन र सदस्य आना क्याथरिन लोइजरले कार्यक्रमका विभिन्न पक्ष, प्रयोग भएको प्रविधी र सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी लिएका हुन् । नमोबुद्ध नगरपालिका, इसिमोड र सिप्रेडसँगको सहयोग समन्वय र सहकार्यमा जलवायु अनुकुलन समाधान कार्यक्रम सञ्चालित छ ।
अवलोकनपछि फान्सका सांसद साल्मनले सहभागी हुन पाउँदा निकै खुशी लागेको भन्दै भएका प्रयासको प्रशंसा गरे । उनले रसायनिक मलको कम प्रयोग गरेर पनि उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण आफूले देखेको भन्दै विस्तार हुने अपेक्षा व्यक्त गरे । इसिमोडका उपमहानिर्देशक इजाबेला कोजियलले कार्यक्रमको राम्रो प्रभाव देखिएको भन्दै मौरी जस्तै कार्यक्रम विस्तार होस् भन्ने शुभकामना व्यक्त गरिन् ।
जलवायु अनुकुलुन तरकारी खेती कार्यक्रमअन्तर्गत कुइँकेलथुम्कामा ताजा तरकारी उत्पादन भइरहेको छ । कार्यक्रमअन्तर्गत थोपा सिञ्चाई, छापो प्रविधि, पोखरी निर्माण, जैविक बिषादी र मोहनी पासोमार्फत किरा नियन्त्रण लगायतका काम भइरहेको छ । स्थानीय कृषकले यहाँ निर्माण भएका पोखरीका कारण सिंचाई र वस्तुभाउको लागि सहज भएको भन्दै सुकेका पानीका श्रोत समेत फेरी पलाएको भन्दै खुशी व्यक्त गरे । नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले यहाँ सञ्चालित कार्यक्रमको राम्रो प्रतिफल देखिएको भन्दै सहयोगको लागि सबै दातृ निकायहरुलाई अनुरोध गरे । अर्गानिक कृषि प्रणाली विकासको लागि नगरपालिका सदैव तयार रहेको भन्दै आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता पनि जनाए ।
टोलीमा फ्रेञ्च मिसन उपप्रमुख लिला डेब्राडजलौ, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, ७ नं वडाका अध्यक्ष धर्मसिं लामा, मैत्री समूहका अधिकृत जेभियर डुप्रेज, इसिमोडबाट मिसेल गुर्तिन, नन्दकिशोर अग्रवाल, इरिका उदास, नमोबुद्ध नगरपालिका वातावरण अधिकृत सन्तोष काफ्ले, लेखा अधिकृत विमल आचार्य लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..