
काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज काठमाडौं आइपुगेका छन्। उनी आज दिउँसो १२:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल फर्किएका हुन्।

देउवा पत्नी आरजु राणासहित उपचारका लागि कात्तिक १० गते राति सिंगापुर गएका थिए। उपचारपश्चात उनी थाइल्यान्ड हुँदै आज नेपाल आइपुगेका हुन्। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन।

जेनजी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएपछि देउवा लामो समयदेखि सक्रिय राजनीतिक गतिविधिबाट टाढा रहँदै आएका थिए। उनको अनुपस्थितिमा नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तन भएको थियो।


विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापतिमा चयन भएपछि कांग्रेसभित्रको इतर पक्षले उक्त प्रक्रियाप्रति असहमति जनाउँदै आएको छ।
पूर्वप्रधानमन्त्री देउवाको स्वदेश फिर्तीसँगै पार्टीको आन्तरिक राजनीतिले नयाँ मोड लिन सक्ने अनुमान गरिएको भए पनि यसबारे देउवाले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

