

सुनसरी : प्रतिनिधिसभा सदस्य पदका लागि यमुना केसी ले चुनावी मैदान तताउँदै व्यापक घरदैलो अभियान सञ्चालन गरेकी छन्। सुनसरी जिल्ला क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी केसी पछिल्लो करिब १५ दिनदेखि निरन्तर मतदाताको घर–घरमा पुगेर आफ्नो एजेण्डा सुनाउँदै समर्थन मागिरहेकी छन्।

उनको अभियान विशेष गरी सबै उमेर समूहका मतदातालाई लक्षित देखिएको छ। जेनेरेशन–जेड (युवा मतदाता) देखि ज्येष्ठ नागरिकसम्मसँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो योजना, प्रतिबद्धता र विकासका अवधारणाबारे विस्तारमा जानकारी दिइरहेकी छन्। स्थानीय टोल, बस्ती, बजार र चोकमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गर्ने शैली अपनाएकी छन्, जसका कारण उनको अभियानलाई धेरैले फरक र प्रभावकारी भन्दै आएका छन्।


केसीले घरदैलोका क्रममा युवाहरूसँग रोजगारी, सीप विकास र प्रविधिमैत्री अवसरबारे चर्चा गर्ने गरेकी छन् भने वृद्ध मतदातासँग सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र स्थानीय पूर्वाधार सुधारका विषयलाई प्राथमिकतामा राखेको बताएकी छन्। उनले “जनताको समस्या बुझ्न सबैभन्दा प्रभावकारी माध्यम प्रत्यक्ष भेटघाट नै हो” भन्ने धारणा राख्दै प्रचारप्रसारभन्दा संवादलाई जोड दिँदै आएकी छन्।
स्थानीय मतदाताले पनि स्वतन्त्र उम्मेदवार भएर व्यक्तिगत रूपमा घरदैलोमा सक्रिय देखिनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। कतिपयले दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारले प्रत्यक्ष सम्पर्क बढाएको भन्दै प्रशंसा गरेका छन् भने केहीले चुनावपछि पनि यही सक्रियता कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार सीमित स्रोत–साधनका बाबजुद लामो समयदेखि निरन्तर घरदैलो अभियान चलाउनु स्वतन्त्र उम्मेदवारका लागि चुनौतीपूर्ण काम हो। तर केसीको निरन्तरता र व्यक्तिगत पहुँचले उनको पहिचान विस्तार गर्न सहयोग पुगेको देखिन्छ।
चुनावी माहोल नजिकिँदै जाँदा केसीको अभियान अझ तीव्र हुने उनको टोलीले जनाएको छ। उनले मतदातासँगको प्रत्यक्ष संवादलाई अन्तिम दिनसम्म जारी राख्ने बताउँदै आफू जनताको विश्वास जित्नेमा आशावादी रहेको प्रतिक्रिया दिएकी छन्।
कोशी अपडेट बाट


