
काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले सुशासन, पारदर्शिता र आर्थिक अनुशासनमा ऐतिहासिक सफलता हासिल गरेको छ ।

महालेखा परीक्षकको कार्यालयको ६३औँ प्रतिवेदन अनुसार नेपालभरका ७५३ स्थानीय तहमध्ये महाभारत गाउँपालिका पुनः शून्य बेरुजु कायम गर्न सफल भएको हो ।


लगातार तीन आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्दै गाउँपालिकाले देशभरकै स्थानीय तहहरूका लागि उदाहरणीय सन्देश दिएको छ ।


यस सफलताको नेतृत्व गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गरेका हुन् । अध्यक्ष जिम्बाले यो उपलब्धि सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा नागरिकको साझा मेहनतको परिणाम भएको बताएका छन् ।
उनले भने,
“पारदर्शिता, उत्तरदायित्व र जनताको विश्वासलाई केन्द्रमा राखेर काम गर्दा सकारात्मक परिणाम सम्भव हुन्छ । महाभारत गाउँपालिकालाई सुशासनको नमुना बनाउने हाम्रो अभियान आगामी दिनमा पनि निरन्तर रहनेछ ।”
गाउँपालिकाको यस उपलब्धिलाई स्थानीयवासीले गौरवको विषयका रूपमा लिँदै अध्यक्ष जिम्बाको नेतृत्वको खुलेर प्रशंसा गरेका छन् ।

