काभ्रेपलान्चोक – सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

घिसिङलाई नियुक्त गरिएको पत्र मंगलबार आइपुगेको र आजै पत्र बुझेर पदबहाली गर्ने मन्त्रालयले जनाएको छ। घिसिङ कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल पूरा गरी भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरिएको पनि मन्त्रालय स्रोतले जनाएको छ । २०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए । २०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..