

काभ्रेपलाञ्चोक — भुम्लु गाउँपालिकामा सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन व्यापक अनुगमन तथा नापजाँच कार्य सुरु गरिएको छ। आज वैशाख २३ गते बुधबार गाउँपालिकाको पहलमा विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाको संयुक्त उपस्थितिमा स्थलगत अनुगमन गरिएको हो।

गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर केसीका अनुसार जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, सडक बोर्ड, नापी टोली, पूर्वाधार कार्यालय लगायतका प्रतिनिधिहरूको सहभागितामा वडा नं. ९ को ५४ किलो क्षेत्रदेखि वडा नं. ८ को दोलालघाट बजार क्षेत्रसम्म सार्वजनिक जग्गाको पहिचान, विवरण संकलन, सडक अधिकार क्षेत्र निर्धारण तथा रेखाङ्कन कार्य सम्पन्न गरिएको छ।


“सार्वजनिक जग्गाको यथार्थ अवस्था पहिचान गरेर त्यसको संरक्षण र व्यवस्थित उपयोग सुनिश्चित गर्नु हाम्रो मुख्य लक्ष्य हो,” भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्र तामाङले भने, “यस अभियानले अतिक्रमण रोकथामसँगै अभिलेखीकरणलाई मजबुत बनाउँदै दीगो व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्छ ।
प्रालिका प्रमुख प्रेम भुजेलले गाउँपालिकाले यो कार्यलाई क्रमिक रूपमा विस्तार गर्दै सबै १० वटै वडामा सार्वजनिक जग्गाको पहिचान र अभिलेखीकरण गर्ने योजना अघि बढाएको बताए । यसबाट स्थानीय तहमा पारदर्शिता कायम हुनुका साथै विकास निर्माण कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।



