
सल्ले भुम्लु । भुम्लु गाउँपालिकालाई यस आर्थिक वर्षका लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । सोमबार पालिका प्रमुख एवं पालिकास्तरीय खोप समितिका संयोजक प्रेमबहादुर भुजेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक दिपककुमार गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको हो यस कार्यमा सक्रिय भएर खट्नु हुने सबैलाई हार्दिक धन्यबाद दिँदै प्रमुख अतिथी गौतमले यसलाई निरन्तरता दिने गरि काम गर्न सबैलाई अनुरोध गर्नुभयो । केही पनि भएन भन्दै गलत प्रचार गर्ने बानी बढ्दै गएको अवस्थामा राम्रा काम गरेर नागरिकलाई सेवा सुविधा दिनुपर्नेमा उहाँको जोड थियो । मानिसको जीवनमा सबै कुरा राम्रो छ तर स्वास्थ्य राम्रो छैन भने जति धन भए पनि केही अर्थ छैन भन्नुहुँदै प्रमुख गौतमले यस पुण्य कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेले भुम्लु गाउँपालिका जिल्लाका पालिका मध्ये तेस्रो पूर्णखोप पालिका भएको र अबका केही महिनामा जिल्लाका सबै पालिकालाई यस अभियानमा संलग्न गराइने बताउनुभयो । उहाँले विश्वमा खोपको अवस्था तथा नेपालमा हाल भइरहेका खोप अभियानहरुका बारेमा जानकारी दिँदै राज्यले एकपटक एक जना बालबालिकालाई खोप लगाउँदा ७ हजार खर्च हुने जानकारी दिनुभयो । उहाँले नेपालमा अहिले पनि हरेक दिन सरदर २३ जना बालबालिकाको मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक प्रस्तुत गर्दै यसमा कमी ल्याउन खोप लगाउनु अनिवार्य रहेको बताउनुभयो । अब गुणस्तरमा रहेर खोप लगाउने अभियान शुरु गरिएको उहाँको भनाइ थियो । कार्यक्रममा पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो । यस अभियानमा साथ र सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, पालिका अध्यक्ष, उपाध्यक्ष, पालिकाका विभिन्न वडाका वडाध्यक्षहरु लगायत जनप्रतिनिधिहरुले हरेक बालबालिकाको खोप पाउने अधिकारलाई सुनिश्चित हुने गरि काम गर्ने प्रतिबद्धता जनाउँदै प्रतिबद्धतापत्रमा हस्ताक्षर पनि गर्नुभयो । हाल पालिकामा १५ महिना मुनीका बालबालिका १५८ जना पूर्णखोप प्राप्त छन् । यस्तै १६ देखि २३ महिनासम्मका १२४ जना बालबालिका रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालकृष्ण गौतमले जानकारी दिनुभयो । जसमा वडानम्बर १ मा २१, वडानम्बर २ मा १२, वडानम्बर ३ मा ७, वडानम्बर ४ मा ४, वडानम्बर ५ मा ६, वडानम्बर ६ मा ३५ जना बालबालिकाले खोप लगाएका छन् । यस्तै वडानम्बर ७ मा पूर्ण खोप लगाउनेको संख्या ६, वडानम्बर ८ मा १२, वडानम्बर ९ मा १४, वडानम्बर १० मा ७ गरि जम्मा १२४ जना रहेको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले स्वागत गर्नुभएको कार्यक्रममा पालिका उपाध्यक्ष जितेन्द्र लामा, भुम्लुका रेडक्रस संयोजक मञ्जु शाह ठकुरी, वडानम्बर ५ का वडाध्यक्ष अञ्चलकुमार मोक्तान, वडानम्बर ४ का वडाध्यक्ष लोकबहादुर कुँवरलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा यस अभियानमा साथ दिने सबै वडा, सम्बद्ध कर्मचारी लगायतलाई सम्मान पनि गरिएको थियो भने विभिन्न वडाका वडाध्यक्षहरु, स्वयंसेविकाहरु, स्वास्थ्यकर्मीहरु, शिक्षक÷शिक्षिकाहरु लगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । सोही अवसर पारेर नेपाल रेडक्रस सोसाइटी भुम्लुले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । यो पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने पालिका मध्ये जिल्लामै तेस्रो नम्बरमा पर्न सफल भएको छ । यस वर्ष नमोबुद्ध नगरपालिका पहिलो भएको छ भने मण्डनदेउपुर नगरपालिका दोस्रो भएको छ ।






