
बनेपा नगरपालिकाको आयोजनामा नगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क टेबलटेनिस प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ। पुष २० गतेदेखि सुरु भएको यो कार्यक्रम आगामी दुई हप्तासम्म सञ्चालन हुनेछ।

प्रशिक्षण काभ्रे बहुमुखी क्याम्पस, बनेपा–६ बुडोलस्थित KMC Sports Hall मा भइरहेको छ। नगरपालिकाका अनुसार प्रशिक्षण कार्यक्रम दैनिक दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालन हुँदै आएको छ। हाल उक्त कार्यक्रममा ६० जना विद्यार्थी भाईबहिनीहरूको सहभागिता रहेको छ।

जाडो बिदाको समयमा विद्यार्थीहरूलाई कुलतबाट जोगाउँदै खेलकुदतर्फ आकर्षित गर्ने, उनीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने र भविष्यका प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो।


यसै सन्दर्भमा बनेपा नगरपालिका नगर उप–प्रमुख बिमला सापकोटाले खेलकुद अनुशासन, आत्मविश्वास र नेतृत्व विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै भन्नुभयो,
“विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य छ। यस्ता प्रशिक्षण कार्यक्रमले उनीहरूमा अनुशासन, सकारात्मक सोच र प्रतिस्पर्धी भावना विकास गर्छ। नगरपालिकाले आगामी दिनमा पनि विद्यार्थी लक्षित खेलकुद कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नेछ।”
नगरपालिकाले यस्ता खेलकुद गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी तथा अभिभावकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।


