
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् ।

खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो सातदेखि १० सम्म झरेको छ ।

आलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा आइपुग्ने व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले गुनासो गरे ।


गत हप्ता १० देखि १५ सम्म बिक्री भएको आलु हाल सातसम्म झरेको छ । यसले स्थानीय किसानहरू निकै चिन्तित छन् । सापकोटा भन्छन्, मूल्य नपाएपछि बारी खन्ने कि नखन्ने भनेर अलमलमा छौँ । खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।
यस वर्ष आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । अगुवा किसान सापकोटाका अनुसार केही किसानले आफैँ काठमाडाँैको कालीमाटीस्थित तरकारी बजार लैजाँदा पनि आलु बिकेको छैन । आफ्नो मूल्यभन्दा पनि व्यापारीकै भाउमा छाडेर आउनुपर्दा लगानी जोखिममा परेको छ ।
स्थानीय किसानका अनुसार अन्य बालीको तुलनामा आलु खेतीमा लागत खर्च बढी हुने गरेको छ । जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब प्रतिकेजी करिब १८ देखि २० सम्म खर्च हुन्छ । विगतका वर्षमा यही समयमा प्रतिकेजी २८ देखि ३५ सम्म बिक्री हुने गरेको थियो । स्थानीय विजय पराजुलीले भने, छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकेजी १० सम्ममा आलु बेचिरहेका छौँ ।
पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने अनुमान गरिएको छ ।
सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्न नसकेसम्म समस्या समाधान नहुने स्थानीय समाजसेवी दामोदर अधिकारीको भनाइ छ ।
मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षिय पशुपति श्रेष्ठ भन्छन्, यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बरले आलु फलेको पाइयो, तर भाउ भने घटिरहेको छ । यसले उत्पादन बढ्दा पनि कुनै खुसी हुने अवस्था छैन ।
यहाँको ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक आलुलगायतका तरकारी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । स्थानीय किसान नारायण श्रेष्ठले उक्त फाँटमा यस ‘सिजन’मा दुई सय रोपनीमा आलु रोपिएको र आफूले मात्रै विगत पाँच वर्षदेखि करिब १२ रोपनीमा आलु रोप्न थालेको बताए । उनले भने, गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, तर भाउ भने पोहोरकोभन्दा तेब्बरले घटेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिकटन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर संघीय राजधानी काठमाडौँको बजारमा पुर्याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । त्योमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।


