
हाँसो, ताली र प्रतिभाले भरिएको दुई दिने भव्य उत्सव

पनौती । काभ्रे शिक्षा विकास प्रतिष्ठानअन्तर्गत सञ्चालित काभ्रे इङ्लिश माध्यमिक विद्यालय, पनौतीको २७औँ वार्षिकोत्सव माघ २४ र २५ गते दुई दिनसम्म भव्य रूपमा सम्पन्न भएको छ। उत्सव यति जीवन्त र ऊर्जा–पूर्ण रह्यो कि दर्शकको ताली थाक्यो, तर विद्यार्थीको जोश सकिएन।

वार्षिकोत्सवको पहिलो दिन पूर्व–प्राथमिक तहका नानीहरूको मासूम नृत्य, संवाद र प्रस्तुतीले अभिभावकहरूको मन जित्यो। “मेरो बच्चा त स्टेजमै हिरो रहेछ” भन्ने गर्विलो अनुभूति अभिभावकहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो। दोस्रो दिन भने कक्षा २ देखि १२ सम्मका विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुतीले स्टेज नै सानो भएको अनुभूति दिलायो। अभिभावकहरू ताली बजाउँदै, भिडियो खिच्दै र गर्वका साथ मुस्कुराउँदै देखिनु सामान्य दृश्य बन्यो।
दुई दिने कार्यक्रमका सभापति काभ्रे शिक्षा विकास प्रतिष्ठानका अध्यक्ष जगन्नाथ अवाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।


उहाँले विद्यालयको २७ वर्षे शैक्षिक यात्राको प्रशंसा गर्दै “अनुशासन, व्यवहारिकता र गुणस्तर बिना शिक्षा अपुरो हुन्छ” भन्नुभयो। उहाँका भनाइलाई शिक्षकहरूले सहमतिमा टाउको हल्लाउँदै र विद्यार्थीहरूले आत्मविश्वासका साथ आत्मसात् गर्दै देखिन्थे।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन, नाटक, कविता, लोकनृत्य तथा झाँकीहरूले दर्शकलाई कहिले हँसाए, कहिले भावुक बनाए, त कहिले “यस्तो प्रतिभा स्कुलमै लुकेको रहेछ?” भन्ने सोचमा डुबायो। यसै अवसरमा लोक सांस्कृतिक क्षेत्रमा “चमेली बाको” नामले परिचित स्थानीय कलाकार गोविन्द तिमल्सिनालाई सम्मान गरिएको थियो। उहाँको प्रस्तुतीपछि कार्यक्रम झन् रौनकिलो बनेको थियो।
वार्षिकोत्सवको उपलक्ष्यमा माघ २० देखि २३ गतेसम्म सञ्चालन भएको चार दिने खेलकुद प्रतियोगिताका विजेताहरूलाई पनि यही समारोहमा पुरस्कार वितरण गरिएको थियो। मेडल ग्रहण गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको चमकले “पढाइसँगै खेलकुद पनि उत्तिकै आवश्यक छ” भन्ने सन्देश प्रस्ट पारेको थियो। “उत्कृष्ट खेलाडी”, “सर्वाधिक पदक विजेता” र “प्लेयर अफ द इयर” जस्ता उपाधिले जित्नेहरू मात्र होइन, अन्य विद्यार्थीहरूलाई पनि अझ मिहिनेत गर्न प्रेरित गरेको देखिन्थ्यो।
त्यसैगरी वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा टपर, विषयगत उत्कृष्ट, नियमित उपस्थित तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै “मिहिनेत कहिल्यै खेर जाँदैन” भन्ने सन्देश पुनः पुष्टि गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक वसन्त राज नेपालले “वार्षिकोत्सव रमाइलोका लागि मात्र होइन, विद्यार्थीभित्र लुकेको आत्मविश्वास, प्रतिभा र नेतृत्व क्षमता उजागर गर्ने महत्वपूर्ण अवसर हो” भन्दै विद्यालयलाई अझ उत्कृष्ट र नमुना शिक्षालय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शुभचिन्तक, पूर्व विद्यार्थी, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागितामा सम्पन्न यस २७औँ वार्षिकोत्सवले काभ्रे इङ्लिश माध्यमिक विद्यालयलाई अझ ऊर्जा, उत्साह र मुस्कानसहित अघि बढाएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण विद्यालय तथा नमस्ते ख्वप टेलिभिजनको फेसबुक पेजमार्फत गरिएको थियो।



