
नन्दलाल खरेल

आशाको नाममा जोखिम
नयाँ भनेर सबै ठीक हुन्छ
भन्ने भ्रमकै भीडमा
आज राजनीति हिँडिरहेछ।
अनुहार फेरिँदा
संस्कार फेरिन्छ भन्ने
सस्तो विश्वासले
लोकतन्त्रकै नाडी च्यापिँदै छ।

थाकेका मतदाताका आँखामा
विकल्पको तिर्खा छ,
युवाको छातीमा
न्याय र परिवर्तनको आगो छ।
तर आगोले उज्यालो दिन्छ
कि सबै खरानी बनाउँछ—
यो विवेकले तय गर्छ,
उत्साहले होइन।


दल बन्नु सजिलो छ,
वैचारिक गहिराइ कठिन।
सत्ता सपना देख्नु सहज,
संयमित यात्रा कठिन।
संगठन नबनाई
शिखरको कल्पना गर्नु
लोकतन्त्र होइन,
आत्मकेन्द्रित हतार हो।
स्थानीय निर्णय र
राष्ट्र सञ्चालनबीच
सागरको दूरी हुन्छ।
यहाँ आदेश मात्र चल्दैन,
यहाँ सहमति चाहिन्छ,
संयमता चाहिन्छ,
विविधताको मनोविज्ञान बुझ्ने
दीर्घ दृष्टि चाहिन्छ।
स्टाटसले शासन हुँदैन,
कटाक्षले समाज जोडिँदैन।
नेताको भाषा पुल हुनुपर्छ,
खाडल होइन।
‘पुराना सबै खराब,
नयाँ सबै महान’
भन्ने नारा
इतिहासमाथिको अन्याय हो।
हो,
पुरानामा दाग छन्—
भ्रष्टाचार, गुट, असफलता।
तर तिनै हातहरूले
निरंकुशता ढाले,
संविधान लेखे,
गणतन्त्र रोपे।
इतिहास मेटेर
भविष्य लेखिँदैन।
यदि एकता
व्यक्तिको लोकप्रियता वरिपरि घुम्छ भने,
त्यो एकता होइन—
व्यक्तिपूजाको पुनरावृत्ति हो।
विकल्प भनेको
अनुहार फेरिनु होइन,
संस्कार रूपान्तरण हो।
हामीलाई नयाँ राजनीति चाहिएको छ,
तर आवेगको होइन—
आत्ममूल्यांकनको।
अहंकारको होइन—
सामूहिक चेतनाको।
यदि पुरानै गल्ती
नयाँ शैलीमा दोहोरिन्छ भने,
त्यो परिवर्तन होइन—
इतिहासको व्यङ्ग्य मात्र हुनेछ।
एकता चाहिन्छ,
तर मूल्यसहित।
दृष्टि बिना एकता
भविष्य होइन—
संकटको बीउ हो।


