
काभ्रेपलाञ्चोक । “प्रतिनिधि सभा निर्वाचन २०८२” अन्तर्गत काभ्रे क्षेत्र नम्बर–२ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार अशोक ब्यान्जु र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार बदन भण्डारी भोट माग्दै भुम्लु गाउँपालिकामा आउने भएका छन्।

दुवै उम्मेद्वार आगामी २४ गते शनिबार भुम्लु गाउँपालिकाका विभिन्न स्थानमा पुगेर चुनावी प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।

एमाले उम्मेद्वार अशोक ब्यान्जुले भुम्लु गाउँपालिका–स्थित भुम्लु भिलेज रिसोर्ट, सल्ले मा आयोजना हुने चुनावी कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्नेछन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार बदन भण्डारीले हवेली, भुम्लुटारमा आयोजित कार्यक्रममा सहभागी हुँदै मतदातासँग भोट माग्ने कार्यक्रम रहेको छ।


चुनाव नजिकिँदै जाँदा काभ्रे–२ मा उम्मेद्वारहरूको सक्रियता बढेसँगै स्थानीय तहमा राजनीतिक चहलपहल समेत बढेको छ। दुवै पार्टीका समर्थकहरू प्रचार–प्रसारमा जुटिरहेका छन् भने मतदाताहरू पनि उम्मेद्वारका प्रतिबद्धता र एजेन्डा सुन्न उत्साहित देखिएका छन्।


