
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवलको अवलोकन भ्रमण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका क्रममा डिआईजी खत्रीले गणको भौतिक पूर्वाधार, सुरक्षा व्यवस्थापन तथा सञ्चालन भइरहेका गतिविधिहरूबारे जानकारी लिनुका साथै गणमा कार्यरत प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो।

उक्त अवसरमा उहाँले प्रहरी संगठनलाई थप व्यावसायिक, अनुशासित र जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई व्यावसायिक प्रहरी आचरण, अनुशासन, कर्तव्यपरायणता तथा उत्कृष्ट कार्यसम्पादनका विषयमा समसामयिक र सारगर्भित निर्देशन दिनुभएको थियो।


डिआईजी खत्रीले सुरक्षा चुनौतीहरू सामना गर्न उच्च मनोबल, टोलीभावना र सेवामुखी दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै जिम्मेवारीप्रति इमान्दार र संवेदनशील भएर कार्य गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो।


