

काठमाडौं राजन थापा माघे संक्रान्ति तथा थारु समुदायको महान् पर्व थारु राष्ट्रिय माघी महोत्सव–२०८२ को अवसरमा ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको ऐतिहासिक टुँडिखेलमा दुई दिन लगातार निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरी उल्लेखनीय सामाजिक सेवा प्रदान गरेको छ।

माघे संक्रान्ति तथा थारु राष्ट्रिय माघी महोत्सवमा ॐ समाज डेण्टल अस्पतालको दुईदिने निःशुल्क दन्त शिविर
महोत्सव मनाउन देशका विभिन्न गाउँ–नगर तथा तराई–मधेस क्षेत्रबाट काठमाडौं आएका हजारौँ नागरिकको स्वास्थ्य आवश्यकतालाई मध्यनजर गर्दै आयोजित उक्त शिविरमा एक हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष रूपमा लाभ लिएका छन्। शिविरमार्फत दन्त परीक्षण, दाँत सफा गर्ने, दाँत निकाल्ने तथा आवश्यक परामर्श सेवा निःशुल्क प्रदान गरिएको थियो।


शिविर व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएका धनप्रसाद घिमिरेका अनुसार माघी महोत्सवमा ठूलो जनसमागम हुने भएकाले आम नागरिकको दन्त स्वास्थ्यलाई प्राथमिकतामा राख्दै शिविर सञ्चालन गरिएको हो। “महोत्सवमा सहभागी धेरै मानिसहरू नियमित दन्त उपचारबाट वञ्चित हुने गरेका छन्। यही यथार्थलाई ध्यानमा राखेर दुई दिनसम्म निरन्तर सेवा प्रदान गरिएको हो,” उनले बताए।
कार्यक्रममा उपस्थित वरिष्ठ दन्त सर्जन डा. सुवास घिमिरेले ॐ समाज डेण्टल अस्पतालको स्थापना उद्देश्य नै समाजका सबै वर्गलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको स्पष्ट पारे। उनले भने, “हाम्रो अस्पताल साना वर्गदेखि ठूला वर्गसम्म, गरिबदेखि धनीसम्म सबै नागरिकका लागि खोलिएको अस्पताल हो। आज यहाँ हजारौँ मानिसहरूलाई सेवा गर्ने अवसर प्राप्त हुनु हाम्रो लागि गर्वको विषय हो। यो अवसर प्रदान गर्नुहुने आयोजकप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
डा. घिमिरेले अस्पतालले केवल उपचारमा मात्र नभई स्वास्थ्य सचेतना, निःशुल्क शिविर तथा सामुदायिक सेवामा निरन्तर जोड दिँदै आएको उल्लेख गरे। यस्ता कार्यक्रमले जनस्तरमा दन्त स्वास्थ्यप्रति चेतना बढाउनुका साथै आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो राहत पुग्ने उनको भनाइ थियो।
त्यस्तै, सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले ॐ समाज डेण्टल अस्पताललाई वास्तविक अर्थमा जनताको अस्पतालको संज्ञा दिए। उनले भने, “साँचिकै जनताको सेवा गर्ने अस्पताल भनेको ॐ समाज डेण्टल अस्पताल हो। मैले व्यक्तिगत रूपमा मात्र यो वर्षमा १८८ औँ पटकभन्दा बढी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छु, जुन यस अस्पतालको निरन्तर सेवामूलक यात्राको प्रमाण हो।”
थापाले नेपालमा पछिल्लो समय दन्त अस्पतालहरूको संख्या तीव्र रूपमा बढिरहेको भए पनि सबैले सामाजिक उत्तरदायित्व वहन नगरेको टिप्पणी गरे। “नेपालमा डेण्टल अस्पतालहरू च्याउसरि खुलेका छन्, तर यति ठूलो संख्यामा, यति निरन्तर र निःशुल्क रूपमा शिविर सञ्चालन गर्ने अस्पताल भने ॐ समाज डेण्टल अस्पताल नै एक मात्र हो भन्ने कुरा म ठोकुवा गरेर भन्न सक्छु,” उनले थपे।
माघी महोत्सवको अवसरमा आयोजित उक्त शिविरले थारु समुदायसहित विभिन्न समुदायका नागरिकलाई स्वास्थ्य सेवासँग जोड्नुका साथै पर्वको सामाजिक महत्वलाई थप उजागर गरेको सहभागीहरूको प्रतिक्रिया छ। विशेषगरी ग्रामीण क्षेत्रबाट आएका नागरिकहरूका लागि राजधानीमै निःशुल्क दन्त उपचार पाउनु ठूलो राहतको विषय बनेको थियो।
आयोजकका अनुसार यस्ता शिविरहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ। ॐ समाज डेण्टल अस्पतालले स्वास्थ्य सेवा केवल व्यवसाय नभई सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग भएको सन्देश यस शिविरमार्फत पुनः एकपटक स्थापित गरेको छ।


