

काभ्रे । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा पौष १९ गते शनिबार “विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

कृषिमा प्रयोग हुने विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे जानकारी गराउँदै सुरक्षित र सही प्रयोग विधि तथा यसको विकल्पहरूबारे सदस्यहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।


विशेषगरी दैनिक भान्छामा प्रयोग हुने तरकारी तथा खाद्य वस्तु सुरक्षित बनाउने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष उद्द्व सापकोटाले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई सदस्यहरूको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक समृद्धिसँगै स्वस्थ जीवनशैली पनि उत्तिकै महत्वपूर्ण छ। कृषिमा विषादीको गलत प्रयोगले दीर्घकालीन समस्या निम्त्याउने भएकाले यसको सही प्रयोग र जैविक विकल्पतर्फ अग्रसर हुनु आजको आवश्यकता हो।”
त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले सहकारीको दीर्घकालीन दृष्टिकोण स्पष्ट पार्दै भन्नुभयो, “हामी ‘दिगो र उत्कृष्ट वित्तीय सहकारी’को अवधारणामा अगाडि बढिरहेका छौँ। सदस्यहरूको आर्थिक उन्नतिसँगै स्वास्थ्य र वातावरणीय सचेतनालाई पनि हाम्रो प्राथमिकतामा राखेका छौँ।”
कार्यक्रममा सहभागी सदस्यहरूले यस्ता सचेतनामूलक कार्यक्रमले व्यवहारिक ज्ञान बढाएको र दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए। सहकारीले आगामी दिनमा पनि आर्थिक, सामाजिक र स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


