
नन्दलाल खरेल

नेपाललाई जेलेन्स्की शासक चाहिँदैन
हामीलाई मञ्चमा उभिएर
तालीको तालमा देश चलाउने
क्यामेराको उज्यालोमा
राष्ट्रको भविष्य साट्ने
जेलेन्स्की शासक चाहिँदैन।

नेपाल अभिनयको रंगमञ्च होइन,
यो सहिदको रगतले लेखिएको इतिहास हो।
यहाँ भाषण होइन—दृष्टि चाहिन्छ,
यहाँ स्टन्ट होइन—स्थायित्व चाहिन्छ।


बाहिय हातहरू
लोकतन्त्रको खोल ओढेर
हाम्रो संविधानको मुटुमा
सुई घोप्दैछन्,
र “नयाँ” को नाममा
पुरानै अस्थिरता
फेरि थोपर्दैछन्।
युवा हुनु अपराध होइन,
तर अनुभवलाई गाली गरेर
देश चलाउने दम्भ
खतरनाक हुन्छ।
नयाँपन विचारमा चाहिन्छ,
अराजकतामा होइन।
हामीलाई युद्धको नायक होइन,
शान्तिको पहरेदार चाहिन्छ।
हामीलाई तालिम पाएको अभिनेता होइन,
जनताको पीडा बुझ्ने
जिम्मेवार नेतृत्व चाहिन्छ।
नेपाल प्रयोगशाला होइन
जहाँ बाहिरका शक्ति
आफ्ना योजना परीक्षण गरून्।
यो स्वाभिमानको भूमि हो,
यहाँ कठपुतली शासक होइन—
आत्मनिर्भर,
जमिनबाट उठेको
राष्ट्रवादी नेतृत्व चाहिन्छ।
त्यसैले स्पष्ट भनौँ—
नेपाललाई जेलेन्स्की शासक चाहिँदैन,
यहाँ जनताको भरोसामा उभिने
दूरदर्शी नेतृत्व चाहिन्छ।


