



काठमाडौं, २१ भदौ (राजन थापा) —
सधैंझैँ प्रत्येक महिनाको तेस्रो हप्तामा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत आज चाबहिल र हाडिगाउँमा संयुक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त कार्यक्रम लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण र ॐ समाज डेन्टल अस्पतालको आयोजनामा तथा नेपाल भारत मैत्री अस्पताल र नेपाल चेस्ट सेन्टरको सहआयोजनामा सम्पन्न भएको हो। “सडकदेखि सदनसम्म” भन्ने मूल नारासहितको कार्यक्रममा ॐ समाज डेन्टल अस्पतालले विशेष सहकार्य गरेको थियो। शिविरमार्फत दन्त उपचारतर्फ १४२ जनाको दन्त परीक्षण, दाँत सफा र अन्य आवश्यक उपचार गरिएको थियो। ॐ समाज डेन्टलका वरिष्ठ शिविर प्रमुख धन घिमिरेले भने, “हामीले एकै दिन दुई स्थानमा शिविर सञ्चालन गर्न सफल भएका छौं। यसरी जनताको स्वास्थ्यमै पुग्ने सेवामार्फत ॐ समाज डेन्टल अग्रणी अस्पतालका रूपमा स्थापित भएको छ।”
त्यस्तै, नेपाल भारत मैत्री अस्पतालका चिकित्सकहरूले २०० भन्दा बढी व्यक्तिको सामान्य स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेका थिए। चाबहिल चोकमा सम्पन्न कार्यक्रममा डा. बिबेक पाण्डेको नेतृत्व रहेको थियो।
डा. पाण्डेले भने, “आजदेखि सामाजिक अभियन्ता तथा पत्रकार राजन थापासँग निरन्तर सहकार्य गर्ने हाम्रो संकल्प छ। अस्पतालका विविध सेवामा विस्तार गर्दै एउटै नारासहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छौं।” यसैगरी, सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले स्वास्थ्यजस्तो आधारभूत सेवामा समुदायमै पुगेर निःशुल्क सेवा दिन पाउनु गर्वको विषय भएको बताए। “यस्ता शिविरले मात्र होइन, निरन्तर स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने हाम्रो लक्ष्य हो,” उनले जोड दिए।
शिविरमा शर्मा मोबाइल हाउस, चाबहिलका एक कर्मचारीले पहिलो पटक रक्तदान गरेर सहयोग गरेका थिए। सहभागीहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना बढाउन ठूलो योगदान पुग्ने धारणा व्यक्त गरेका छन्।
आयोजक संस्थाहरूले चाबहिल र हाडिगाउँमा सम्पन्न संयुक्त स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।


