काभ्रेपलान्चोक –  सरकारले लिएको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लक्ष्यअनुरूप काभ्रेको मण्डनदेउपुर नगरपालिकामा औद्योगिक ग्राम स्थापनाको काम सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ मा रहेको गैरीचौरमा औद्योगिक ग्राम निर्माणको काम सुरु भएको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा साबिक गैरीबिसौना गाविस–३ (हाल मण्डनदेउपुर–६)मा करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले गत वैशाखदेखि औद्योगिक ग्राम निर्माणको काम सुरु भएको भन्दै प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ५० लाख रुपियाँमध्ये ७७ लाख रुपियाँको काम भएको बताउनुभयो ।
“प्रदेशबाट प्राप्त रकमबाट ग्रामको जग्गामा तारबार लगाउने, दुईकोठे पाले घर निर्माण र जग्गाको बनोटअनुसार जग्गा सम्याउने काम सम्पन्न गरेका छौँ,” उद्योग अधिकृत पुडासैनीले थप्नुभयो । औद्योगिक ग्राम निर्माणका लागि नगरपालिकाले गैरीचौरमा रहेको ७७१ रोपनी जग्गा उपलब्ध गराएको जानकारी दिँदै उहाँले प्रदेश सरकारले गत आवको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ मा बजेट कम राखेकाले नगरपालिकाले ग्राम निर्माणको कामलाई तीव्रता दिनका लागि बहुवर्षीय योजनामा समावेश गर्न माग गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारले चालू आवका लागि ग्राम निर्माण गर्न ५० लाख रुपियाँ रकम विनियोजन गरेको बताउँदै उक्त रकमले ग्रामका लागि उपलब्ध भएको जग्गा सम्याउने काम गरिने बताउनुभयो ।
उहाँले औद्योगिक ग्राममा सयदेखि दुई सयवटासम्म उद्योग स्थापना गर्न सकिने जानकारी दिँदै ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा सम्पूर्ण काम पूरा गर्न करिब १८ करोड रुपियाँ खर्च हुने उल्लेख रहेको बताउनुभयो ।
काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेले औद्योगिक ग्रामको काम सम्पन्न भएपछि उद्योग स्थापनासँगै नागरिकले रोजगारी पाउने बताउनुभयो । “ग्राममा स्थापना हुने व्यवसाय हेरेर सरकारले पूर्वाधार निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो । सङ्घीय सरकारको सहयोगमा जिल्लाको पाँचखाल नगरपालिका, रोसी गाउँपालिका र धुलिखेल नगरपालिका औद्योगिक ग्राम निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..